कांग्रेस नेता विमलेन्द्र निधिले पनि निर्वाचन क्षेत्र घोषणा गरे

जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले प्रतिनिधिसभाको निर्वाचनमा धनुषाको क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने बताएका छन् ।

अघिल्लो चुनावमा निधि पूर्वमन्त्री एवम् लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोसँग पराजित भएका थिए । महतो आफ्नो गृहजिल्ला सर्लाही छाडेर धनुषाको क्षेत्र नं. ३ बाट उम्मेवार बनेका थिए ।

निधिले आफूले धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले अगामी निर्वाचनमा लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)लाई पनि पाँच दलीय गठबन्धनमा सहभागी गराइनुपर्ने निधिले बताएका छन् ।

उनले लोसपालाई गठबन्धन र सरकारमा सहभागी गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले कुराकानी गरिरहेको बताएका छन् ।
उनले भने, ‘मैले निर्वाचनमा उम्मेदवारी दिनेमा कुनै दुईमत छैन ।’

‘मलाई राजेन्द्र महतोले यसअघि पराजित गरिसकेकाले उहाँले यसपालि फेरि लड्ने कि नलड्ने भन्ने सवाल उहाँले नै भन्नु हुन्छ’, निधिले भनेका छन् ।

एमालेकी नेतृ जुलीकुमारी महतोले पनि धनुषाको क्षेत्र नम्बर ३ बाट उम्मेदावरी दिने घोषणा गरेकी छिन् ।

Published : Sunday, 2022 August 14, 2:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया