खेलाडीहरूका लागि कांग्रेस सभापति बानियाँको विशेष घोषणा
काठमाडौं । नेपाली कांग्रेस बागमतीका सभापति एवम् संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले अन्तर्राष्ट्रिय पदक जितेर दशको शिर उँचो बनाउन खेलाडीहरूका लागि बजेट छुट्टाएर विशेष व्यवस्था गर्न पालिकाहरूलाई दिर्नेशन दिएका छन् ।
शुक्रबार ललितपुरमा आयोजित तेक्वान्दोका खेलाडीहरूको कार्यक्रममा सभापति बानियाँले बागमती प्रदेशभित्र कांग्रेसले जितेका पालिकाहरूलाई बजेट छुट्टाएर अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीहरूको जीविकोपार्जनमा सहयोग गर्न निर्देशन दिएका हुन् ।
‘अन्तर्राष्ट्रिय जगतमा तेक्वान्दोले नेपालको शिर उँचो राखेको छ’, उनले भने, ‘संघीयताअन्तर्गत तीन तहमा मुलुक गएको छ । बागमतीका कांग्रेसले जितेका पालिकाहरूमा तेक्वान्दोका खेलाडीलाई तालिम दिने व्यवस्था गर्नुपर्छ ।’
उनले बागमती प्रदेशमा १२९ वटा पालिका रहेको भन्दै कांग्रेसले जितेका पालिकाहरूमा तेक्वान्दोसहितका खेलको विकासका लागि बजेट छुट्टाउन आग्रह गरेका छन् । उनले प्रशिक्षकमार्फत खेलाडीहरूलाई तालिमको व्यवस्था गर्न निर्देशन समेत दिएका छन् ।
सभापति बानियाँले कांग्रेसले जितेको ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले खेलकुद र खेलाडीका लागि बजेटको व्यवस्था गरेकोमा प्रशंसा गर्दै सो कार्यको सबै पालिकाले अनुशरण गर्नुपर्ने बताए ।
‘बागमतीका खेलाडीले अन्तर्राष्ट्रिय पदक जितेका छन् । बागमती प्रदेश खेलकुदमा सबैभन्दा अगाडि छ’, बानियाँले भने, ‘बागमतीका खेलाडीले देशको शिर उच्च राखेका छन् ।’
उनले भने, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा बागमतीका खेलाडीले विदेशमा गएर पदक जित्यो भने निर्वाचनपछि बन्ने कांग्रेसको सरकारले खेलाडीलाई सुविधा प्रदान गरिनेछ ।’
‘कांग्रेसबाट जितेका साथीहरूले पदक जितेका र देशको नाम राखेका खेलाडीहरूलाई पालिकाले वार्षिक रुपमा बजेट छुट्याएर काम गर्नुपर्नेछ’, सभापति बानियाँले भनेका छन् ।
‘म पनि कुनै बेला तेक्वान्दो खेल खेलेको मान्छे हो’, उनले भने, ‘खेलाडीलाई सेन्सर वाला हेलमेटको व्यवस्था गर्न प्रदेश सरकारलाई पहल गर्नेछु । सेन्सरले थाहा पाउने हुन्छ । प्रविधिलाई खेल र खेलाडीसँग जोडेर बागमती लिड प्रदेशको रुपमा जानुपर्छ ।’
कार्यक्रममा ललितपुर कांग्रेसका सभापति जितेन्द्र श्रेष्ठ, तेक्वान्दो संघका राष्ट्रिय अध्यक्ष प्रकाशशम्शेर राणालगायतका खेलाडी र प्रशिक्षकहरूको सहभागिता रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया