देउवाले गरे सत्य कुरा, महामन्त्री भएर शेखर गुटको भेलामा सहभागी भए गगनलाई बहिस्कार गर्ने
काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केही नेताहरूले आफूलाई जिस्क्याउने गरेको बताएका छन् ।
पार्टी कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा देउवाले केही नेताहरूले आफूलाई पेल्ने काम गरेको बताएका हुन् ।
देउवाले होटल–होटलमा गुटको भेला गरेर आफूलाई जिस्क्याउने र पेल्न खोजिएको बताए ।
शेखर कोइराला निकटका केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले गठबन्धन गर्दा पार्टीले हार्ने भयो भनेका थिए । त्यसको जवाफमा देउवाले गुटको भेला र बैठक नगर्न आग्रह गरे ।
आफूलाई बारम्बार जिस्क्याउने होभने पार्टी विधान संशोधन गरेर भए पनि तेस्रो कार्यकाल सभापति भइदिने चेतावनी देउवाले दिएको एक नेताले बताएका छन् ।
देउवाको भनाई उदृत गर्दै एक नेताले भने, ‘मलाई नजिस्क्याउनुस्, विधान संशोधन गरेर भए पनि तेस्रो पल्ट सभापति हुन सक्छु ।’
‘होटल होटलमा गएर बैठक नगर्नु, अब मलाई पार्टी सभापति हुने रहर छैन’, देउवाले भने, ‘जिस्काउनुहुन्छ भने म संशोधन गरेर भए पनि सभापति हुन्छु । मलाई अब नपेल्नुस् म फेरि सभापति हुने दौडमा छैन ।’
देउवाले बर्दियामा कांग्रेसले लगातार हारिरहेको बताउँदै गठबन्धनका कारण जित्न सजिलो हुने बताए । बर्दियामा गौतमका कारण कांग्रेसलाई नोक्सानी हुँदै आएको छ ।
यसैबीच, नेताहरूले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पनि आलोचना गरेका छन् ।
नेताहरूले महामन्त्री भएर गुटको बैठकमा सहभागी भएको, लोकप्रिय हुन पार्टीको आलोचना गरेको गगन र विश्वप्रकाशको आलोचना गरेका हुन् ।
केन्द्रीय समिति बैठकअघि शेखर समूहको भेलामा महामन्त्री थापा सहभागी भएका थिए ।
केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले महामन्त्री भएर गुटको बैठकमा किन सहभागी भएको भनि थापामाथि प्रश्न उठाएका थिए । बुढाथोकीले महामन्त्री भएर गुटमा सहभागी भए बहिस्कार गर्ने चेतावनी दिए ।
बुढाथोकीले भने, ‘महामन्त्री नेता हो, केटाकेटीजस्तो भएर बस्नुभएन, तपाईहरूलाई बहिस्कार गर्ने बेला नआओस् ।’
केन्द्रीय सदस्य रामजनम चौधरीले महामन्त्रीहरूले पार्टीको आलोचना गरेको भन्दै असन्तुष्टि जनाए । चौधरीले पार्टी कार्यकर्ताको हौसला बढाउने खालको अन्तर्वार्ता दिन महमामन्त्रीहरूलाई आग्रह गरेका छन् ।
चौधरीले भने, ‘अन्तर्वार्ता दिँदा हौसला बढाउने गरी दिनुस्, निराश हुने र जहिले पनि पार्टीको आलोचना गरेर नदिनुस् ।’
विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था गर्न माग गर्दै महामन्त्री थापा र शर्मा निर्वाचन आयोगमा पुगेको विषयमा पनि नेताहरूले आलोचना गरेका थिए ।
केन्द्रीय सदस्य राजिव ढुंगानाले पार्टीको संस्थागत निर्णयविना महामन्त्रीहरू निर्वाचन आयोग जानु बेठीक भएको बताए ।
केन्द्रीय सदस्य प्रकाशमान सिंहले सभापति देउवा नेतृत्वको सरकारबारे जनस्तरमा गुनासो आएको बताए ।
सिंहले भने, ‘सरकारले जनताको मन दुख्ने गतिविधि रोक्नुप¥यो । आफ्नो कामलाई प्रभावकारी बनाउनुपर्यो ।’
नेता सिंहसहितले सरकार र मन्त्रीहरुको कामबारे जनतामा असन्तोष रहेको रिपोर्टिङ गरेपछि बिहीबारको बैठकमा सरकारमा सहभागी सबै मन्त्रीले जवाफ दिनुपर्ने भएको छ ।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री एवम् केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने अहिले देशमा सुशासन रहेको बताएका छन् ।
कार्कीले भने, ‘हिजोको दिनमा हप्तैपिच्छे करोडौं भ्रष्टाचार भएका समाचार आउँथे । अहिले देशमा सुशासन कायम भएको छ ।’
उनले भने, ‘स्थानीय तहको परिणामले नेपाली जनताको मनोविज्ञानमा परिवर्तन ल्याएको छ ।’
केन्द्रीय सदस्य भीम पराजुलीले नेपाललाई हिन्दू राष्ट्र कायम गरी संघीयता खारेज गर्नुपर्ने माग राखेका छन् ।
पराजुलीले लिखित धारणा राख्दै कांग्रेसले धर्मनिरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता कायम राख्नु पर्ने माग गरेका छन् ।
कांग्रेसले हिन्दू धर्मलाई मुख्य एजेण्डा बनाउनुपर्ने माग पराजुलीको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया