कांग्रेसलाई अर्को मन्त्रालय थपियो, देउवाले लिए जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादर देउवाले अर्थ मन्त्रालयको कार्यभार सम्हालेका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मेवारी पाएका हुन् । अर्को व्यवस्था नभएसम्म देउवाले अर्थ मन्त्रालय सम्हाल्ने भएपछि नेपाली कांग्रेसलाई अर्को मन्त्रालय केही समय थपिएको छ ।

माओवादीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न कसलाई पठाउने हो केही भनेको छैन । अर्थमन्त्री बन्न वर्षमान पुनले ठूलो आशा राखेका छन् ।

अर्थमन्त्री शर्माले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिएका छन् ।

अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले समहाल्ने गरी तोकिएको विज्ञप्तिमा उल्लेख छ ।

बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेपछि शर्माले बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् ।

शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ । शर्माले छानबिन समितिलाई काम गर्न मार्ग प्रशस्त गर्न भन्दै राजीनामा दिएको बताएका छन् ।

बजेट निर्माणका क्रममा मन्त्रालयभित्र अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा डिलिट गराइएको शर्मामाथि आरोप छ ।

Published : Wednesday, 2022 July 6, 9:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया