अर्थमन्त्री शर्माबारे कांग्रेसले दियो बैकल्पिक बाटो, उप–सभापति खड्का पनि बोले

काठमाडौं । नेपाली कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्काले अर्थ मन्त्रालयका विषयमा उठेको विषयलाई संसदीय छानविन समिति बनाएर विश्वासिलो तरिकाले समस्याको समाधान गर्न आग्रह गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत उप–सभापति खड्काले अर्थ मन्त्रालयको घटनाका विषयमा संसदीय समितिमार्फत छानविन गर्नुपर्ने बताएका हुन् ।

खड्काले अर्थमन्त्री जनार्दन शर्माको नाम लिएका छैनन् । तर, खड्काले मन्त्री शर्मा विवादमा तानिएपछि सो विषयमा संसदीय छानविनमार्फत समस्याको समाधान गर्न आग्रह गरेका हुन् । विगतमा पनि यस्ता विवाद आउँदा संसदीय समितिले छानविन गरेर टुंगोमा पुर्‍याउने गरेको कांग्रेसका उप–सभापति खड्काको भनाइ छ ।

‘बजेट निर्माणको बेलाको विषय समेतलाई जोडेर अर्थ मन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानविन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठीक हुन्छ’, उप–सभापति खड्काले भनेका छन् ।

‘बिगतमा पनि संसदको यस्तो परम्परा छ’, खड्काले भने, ‘बरु ढिलो नगरौं । संसदबाट आजै संसदीय समिति निर्माणको टुङ्गो लगाऔँ ।’

अर्थमन्त्री शर्माले विनोद चौधरीको ‘चौधरी ग्रुप’का बिचौलिया पूर्व नायब सुब्बालाई भित्र्याएर करको दायरमा हेरफेर गरेको आरोप लागेको छ ।

बजेट बनाउँदाको सीसीटीभीको भिडियो पनि डिलेट गरेपछि अर्थमन्त्री शर्मामाथि झन् ठूलो प्रश्न उठेको छ । शर्मालाई अर्थमन्त्रीबाट बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई ठूलो दवाव परेका बेला उप–सभापति खड्काले बीचको विकल्प दिएका छन् ।

अर्थमन्त्री शर्मालाई उनको पार्टी एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोकेर राखेका छन् । प्रचण्ड नै शर्माको पक्षमा रहेपछि प्रधानमन्त्री देउवाले केही गर्ने अवस्था छैन ।

अहिलेको सरकार गठबन्धनको सरकार हो । देउवा आफूले मात्रै चाहेर केही हुँदैन । सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादीले शर्मालाई फिर्ता बोलाउनुपर्ने सुझाव पनि छ । शर्माको बिकल्पमा अर्को नेतालाई अर्थमन्त्री बनाउनुपर्ने सुझाव पनि छ ।

Published : Wednesday, 2022 July 6, 10:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया