इमानदारी र नैतिकता रहेन भने राजनीतिको औचित्य छैन : ईन्द्र बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमतीका सभापति एवम् संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले आफू सधैँ पद्धति, सहमति र समझदारीमा विश्वास गर्ने व्यक्ति भएको बताएका छन् ।

एउटा अन्तर्वार्तामा सभापति बानियाँले इमान्दारिता र नैतिकता रहेन भने राजनीति अन्त्य हुने बताएका छन् । उनले संस्कार, सहमति र मेलमिलापको राजनीति गर्नुपर्ने बताएका छन् ।

बागमती प्रदेशको मुख्यमन्त्री ६÷६ महिनामा परिवर्तन गर्ने सहमति कांग्रेस र नेकपा (एकीकृत समाजवादी)बीच भएको थियो ।

एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले पूर्वसहमतिअनुसार ६ महिना पूरा हुनेवित्तिकै छाड्नुपर्ने थियो । पाण्डेले मुख्यमन्त्री पद छाड्न मानेका छैनन् ।

‘सहमति भएको कुरा मिडियामा पनि आइसक्यो । सहमति र समझदारी अनुसार हुन्छभन्ने विश्वास छ’, बानियाँले भने, ‘हामीले पद्धतिको लागि लडाइँ लड्या हो । पदको लागि होइन ।’

‘पद्धति, समृद्धि र समानताको लडाइँ लडेको हो । मुख्यमन्त्री हुनुपर्छ भन्नेमा समझदारी भएको छ, म नै बन्नुपर्छ भन्ने होइन’, सभापति बानियाँले भनेका छन् ।

‘राजनीतिमा इमानदारी र नैतिकता हुन्छ । इमानदारी र नैतिकता रहेन भने राजनीतिको औचित्य छैन’, उनले भने, ‘राजनीतिमा इमानदारी र नैतिकता समझदारी गर्नेले राख्नुहुन्छ भन्ने मेरो विश्वास हो । नभए मेरो केही बिग्रिँदैन ।’

उनले भने, ‘समाजमा मान्छेको इमानदारिता र नैतिकता कति छ ? भन्ने पहिचान बन्छ । हिजो गरेको सम्झौता र समझदारी के हो ? भन्ने कुरा समाजले हेर्छ ।’

सभापति बानियाँले मुख्यमन्त्री पदभन्दा पनि विधि, पद्धति, सहमति, विश्वास र राजनीतिक इमान्दारितामा सबैले ध्यान दिनुपर्ने बताउने गरेका छन् ।

Published : Wednesday, 2022 June 29, 9:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया