कांग्रेस र माओवादीबारे महेश बस्नेतको नयाँ खुलासा

काठमाडौं । एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले वर्तमान सरकार र गठबन्धन आफ्नै कारणले ढल्ने टिप्पणी गरेका छन् ।

काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा नेता बस्नेतले अहिले आफूहरू सरकार परिवर्तन गर्ने र पाँच दलीय गठबन्धन भत्काउने खेलमा नलागेको बताए ।

उनले सरकारको एक वर्ष पुग्न लागेको भन्दै सरकारले कुनै राम्रो काम गर्न नसकेको बताए । ‘सरकारको बारेमा गम्भीर समीक्षा गर्न जरुरी छ’, उनले भने, ‘यो सरकार जनमतको कारण जन्मिएको होइन ।’

सरकार निर्माणको क्षेत्रमा पनि २५ प्रतिशतको दरले मूल्य बढेको उनले बताएका छन् ।

‘सरकारले घोषणा गरेका राहतका कार्यक्रम पनि सान्दर्भिक छैनन्’, उनले भने, ‘ईण्डक्सन चुलोको कुरा गर्दापनि यो खर्चिलो छ ।’

उनले बजेटको अघिल्लो दिन विषय विज्ञका नाममा ठूलो घरानाका मान्छे मन्त्रालय छिरेर करको दर हेरफेर गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले गम्भीर अपराध गरेको बताएका छन् ।

‘हिजो ओम्नी, यति भन्नेहरू आज मुखमा पट्टी बाँधेर बसेका छन्’, उनले भने, ‘बजेट निर्माणको बेला भएको चलखेल अपराधको विषय हो, त्यसमा कमिसनको ठूलो खेल देखिन्छ ।’

‘वायर र स्यानिटरी प्याडमा ठूलो छुट दिइएको छ’, एमालेका नेता बस्नेतले भने, ‘नेपाली स्वदेशी उद्योग बन्द गर्ने अवस्थामा पु¥याइएको छ । आज उद्योगी तथा व्यवसायीहरू सबै निराश हुने अवस्थामा पुगेका छन् ।’

उनले एमालेले अर्थमन्त्री शर्माको राजीनामा मागेर सदनमा सशक्त आवाज उठाएको बताएका छन् ।

उनले संस्कृति, पर्यटन तथा नागरिक उड््ययनमन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अश्लील गाली गरेको र दुर्व्यवहार गरेको कुरा बाहिर आउँदापनि पार्टी र प्रधानमन्त्रीले आलेलाई कारबाही गर्न नसकेको बताएका छन् ।

उनले भने, ‘पर्यटन मन्त्रीको राजीनामा आउला भनेको त, उल्टै कुटाई खाने युवराज अधिकारी हिजो निलम्बनमा परे । लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वली व्यक्तिको घरमा जान्छिन् र हातपातको तहमा उत्रिन्छन् । उनलाई कारबाही गर्ने वा राजीनामा दिने कुरै छैन् ।’

‘वलीलाई कारबाही गर्नको लागि प्रदेश सरकारले कुनै पहल लिएन’, उनले भने, ‘यो दुःखद् विषय हो । अहिले बैंकिङ क्षेत्र टाट पल्टिँदैछ । शेयर बजारको अवस्था त्यस्तै छ । बजेट कार्यान्वयन नहुने अवस्थामा छ । सरकार भने प्रतिपक्षीविरुद्ध षड्यन्त्र गरिरहेको छ ।’

बस्नेतले एमालेविहीन राज्यको कल्पना गर्ने कुरामा गठबन्धन लागिपरेको आरोप लगाए ।

‘एमाले जनताको मन र मुटुमा रहुञ्जेलसम्म कहिल्यैपनि सकिँदैन्’ उनले भने, ‘एमाले सदनमा ठूलो दलको रुपमा उपस्थित छ । एमालेले पपुलर मत पाएको छ । हाम्रा कमजोरीको बारेमा समीक्षा गर्छौं ।’

उनले भने, ‘हामी अहिले यो गठबन्धन टुटाउने वा सरकार फेर्नेजस्तो फोहोरी खेलमा संलग्न हुन चाहँदैनौं ।’

उनले अहिले पाँच दलीय गठबन्धनभित्र ठूलो समस्या रहेको बताएका छन् ।

‘यो गठबन्धन कुहिएको फर्सीजस्तै छ । हेर्दा सद्देजस्तो देखिन्छ । तर, यसको भेट्नो कुहिएको छ’, उनले भने, ‘उपेन्द्र यादवको पार्टी विभाजनको तहमा पुगेको छ । कांग्रेस र माओवादीभित्रपनि ठूलो समस्या छ ।’

‘गठबन्धन आँफै भत्किने अवस्थामा पुगेको छ । एमाललाईे नयाँ सरकार बनाउने कुरामा खास धेरै फुर्सद छैन्’, उनले भने, ‘अहिलेको धु्रवीकरण सुधार हुन्छ । हामीलाई वामपन्थीको नाममा गठबन्धन गर्ने इच्छा छैन् ।’

Published : Tuesday, 2022 June 21, 3:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया