रामहरि खतिवडाको खुलासाले बालकोटमा ओलीलाई झट्का

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रामहरि खतिवडाले सरकार प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारीमा जुटिसकेको बताएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा नेता खतिवडाले भने, ‘सरकारले संघीय संसदको निर्वाचनको मिति घोषणा गर्छ । अहिले मतदाता नामावाली संकलन भैरहेको छ ।’

नेता खतिवडाले असारको अन्तिमतिर निर्वाचनको मिति घोषणा गरिने बताएका छन् ।

मुलुकमा विषम परिस्थिति आइपर्दा जहिल्यै पनि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेर समाधान गरेको नेता खतिवडाले बताएका छन् ।

तत्कालीन नेकपाको सरकार आफ्नै कारणले ढलेको र पार्टी पनि विभाजन भएको अवस्थामा कांग्रेसका सभापति शेरबहादुर देउवाले बाध्यताले सरकारको नेतृत्व लिनुपरेको उनले बताएका छन् ।

‘हामीले प्रतिपक्षीको राम्रो भूमिका निर्वाह गरेका थियौं’, उनले भने, ‘आफ्नै कारणले नेकपाको सरकार ढल्न पुग्यो । केपी ओली नेतृत्वको सरकार कानून र संविधानसम्मत रुपमा चलेन ।’

उनले भने, ‘नेकपाकै साथीहरूको साथले हामीले सरकार निर्माण ग¥यौं । देउवा नेतृत्वको सरकार गठन भएको एक वर्ष भयो ।

यो बीचमा स्थानीय तहको निर्वाचन सम्पन्न भयो । निर्वाचन निश्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण रुपमा सम्पन्न भयो ।’

स्थानीय तहको निर्वाचनमा जनताले कांग्रेसलाई पहिलो दल बनाएको उनको भनाई छ ।

‘अहिले कांग्रेस पहिलो पार्टी भएको छ । यो हाम्रो लागि खुशीको कुरा हो’, उनले भने, ‘मुख्य कुरा म सरकारलाई धन्यवाद दिन चाहन्छु कि निर्वाचनमा ठूलो क्षति कहीँ पनि भएन । शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भयो ।’

‘केपी ओलीले पनि संसदमा बोल्दा मनमनै यो सरकारलाई धन्यवाद दिनुभयो’, खतिवडाले भने, ‘म पनि उहाँलाई धन्यवाद दिन चाहन्छु ।’

‘सरकारले निश्पक्ष रुपमा निर्वाचन गरायो । काठमाडौं, धरान, धनगढीमा स्वतन्त्र उम्मेदवारले निर्वाचन जित्नुभयो’, उनले भने, ‘दलमात्रै नभएर इमान्दारिताका साथ जनताको बीच पुगेकाहरू विजयी हुनुभएको छ ।’

उनले देउवाले सरकारको नेतृत्व गर्नुपूर्व मुलुकमा कानूनी राज्यनै नभएको आरोप लगाए ।

उनले भने, ‘हामीले सरकार निर्माण गर्दाताका मुलुकमा कानूनी राज्य थिएन । संविधानमाथि बलात्कार भएको थियो ।’

‘संसद् विघटन गरेर संसदलाई खिल्ली उडाउने काम भएको थियो’, उनले भने, ‘आफ्नै पार्टीलाई व्यवस्थापन गर्न नसकेर कानून, संविधानमाथि आक्रमण गर्ने काम भयो ।’

‘राष्ट्रियताको ठूलो कुरा गरियो । चुच्चे नक्शा समावेश गरेर पाठ्यपुस्तक छापिएन’, नेता खतिवडाले ओलीतिर लक्षित गरेर भनेका छन् । ओलीले पाठ्यपुस्तकमा चुच्चे नक्सा राख्न दिएका थिएनन् ।

उनले आफूहरुले सन्तुलित विदेशी नीतिलाई बढावा दिएको बताएका छन् । सरकारले भारत र चीन दुवैसँग सुमधुर सम्बन्ध कायम गरेको खतिवडाले बताएका छन् ।

एसपीपी ओली सरकारकै पालामा भएको थियो भन्ने कुरा प्रमाणित भएको खतिवडाले बताएका छन् ।

‘देउवा सरकारले एसपीपीबारे अब कुनैपनि अन्यौल नराखेको र सोमबारको मन्त्रिपरिषद् बैठकले एसपीपी अस्वीकार गर्ने भनेर अमेरिकालाई पत्राचार गर्ने निर्णयपनि गरिसकेको छ’, खतिवडाले भनेका छन् ।

सरकारले ज्येष्ठ नागरिकलाई भत्ता दिने निर्णय गरेको र विभिन्न जटिल रोग लागेकहरूलाई पनि पाँच हजार रुपियाँ दिने निर्णय गरेको उनले बताएका छन् ।

Published : Tuesday, 2022 June 21, 2:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया