कांग्रेससहितका सबै पर्यटन व्यवसायीहरूद्वारा आलेलाई बर्खास्त गर्न देउवासँग आग्रह

काठमाडौं । नेपाली कांग्रेस, एमाले र माओवादी निकटका पर्यटन व्यवसायीहरूले अराजक संस्कृति, पर्यटनतथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।

नेपाल पर्यटन व्यवसायी संघका अध्यक्ष दीपक महत, नेपाल पर्यटन व्यवसायी संगठनका संयोजक नवराज दाहाल र नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष पूर्णबहादुर कुँवरले सोमबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर सरकारको छवि बचाउन आलेलाई मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री र नेकपा (एकीकृत समाजवादी)सँग आग्रह गरेका छन् ।

‘केही समय पहिले आफ्नो विवादास्पद अभिव्यक्ति माज्ञको कारण तत्कालीन कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएको घटना ताजै छ’, विज्ञप्तिमा भनिएको छ ।

‘यसै उदाहरणलाई पच्छ्याएर नैतिकताको आधारमा तत्काल राजीनामा दिन मन्त्री आलेलाई हामी पर्यटन व्यवसायीहरूको छाता संगठनहरू एक साथ सुझाव दिन्छौँ’, विज्ञप्तिमा उल्लेख छ ।

पर्यटन व्यवसायीहरूले चेतावनी दिँदै भनेका छन्, ‘अन्यथा विषयगत जानकारीसम्म पनि नभएका, आफ्नो पदीय मर्यादासम्मको याद नगर्ने, आफ्ना मान्छेहरूलाई जागिर खुवाउन अनावश्यक दवाव दिने, अश्लील गालीगलौज गर्ने र हातपातसम्मका घटना घटाउने जस्ता दुष्कार्य गरेर गैरजिम्मेवार बनेका मन्त्री आलेलाई उनको पदीय जिम्मेवारीबाट तत्काल बर्खास्त गरी सरकार र पार्टीको छवि बचाउन प्रधानमन्त्रीज्यू र सम्बन्धित पार्टीलाई अनुरोध गर्दछौं ।’

मन्त्री आलेले केही दिन अगाडि आफ्नै कार्यकक्षमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपातसहित दुर्व्यवहार गर्नुका साथै निच शब्दहरूबाट गालीगलौज गरेका थिए ।

मन्त्री आलेका हर्कतले हदपार गरेपछि पर्यटन व्यवसायीहरूले बर्खास्त गर्न माग गरेका छन् ।

Published : Monday, 2022 June 20, 8:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया