द्वेषभाव र मन मुटाव नराखी अगाडि बढ्न गृहमन्त्री खाणको आग्रह
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले ‘मानवताको लागि योग’ भन्ने नारालाई आत्मसात् गरी कुनै पनि द्वेषभाव र मन मुटाव नराखी एक आपसमा सदभावका साथ अगाडि बढ्नुपर्ने बताएका छन् ।
आठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नेपाल प्रहरीको प्रधान कार्यालयमा सोमबार आयोजित शिविर तथा उत्प्रेरणा कार्यक्रममा खाणले सौहार्दता, मेलमिलाप र हार्दिकताको सम्बन्ध कायम गरी पवित्र मनोभावका साथ समाज, राष्ट्रको हित र विकासमा आफूलाई समर्पित गर्नुपर्ने बताए ।
उनले योग र प्राणायामको नियमित अभ्यासले मानव शरीर र मस्तिष्कलाई सन्तुलित र स्वस्थ राखी सकारात्मक सोंच विकास गर्ने उनले बताएका छन् ।
गृहमन्त्री खाणले विविध कारणले मानव जीवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश, द्वेष र विचलनलाई नियन्त्रण गरी मानिसको भौतिक शरीर, मानसिक अनुभूति र शारीरिक अवस्थालाई सन्तुलनमा राखी तनाव कम गर्न, जीवनलाई शान्त, फलदायी र उत्पादन मुलक बनाउन योग प्रभावकरी सिद्ध भएको उल्लेख गरेका छन् ।
खाणले समाजमा हुने विभिन्न प्रकारका घटना, दुर्घटना र अपराधहरूको प्रभावकारी रोकथाम तथा नियन्त्रण गरी समाज र नागरिकलाई सुरक्षित राख्ने जटिल प्रकृतिको जिम्मेवारी वहन गर्ने सन्दर्भमा प्रहरी कर्मचारीहरूको तनाव व्यवस्थापनमा योग अभ्यासको अधिक महत्व रहने बताए ।
उनले योग अभ्यासलाई प्रशिक्षणमा सीमित नराखी आफ्नो व्यक्तिगत एवं व्यावसायिक जीवनमा समेत नियमित अभ्यास गर्न आग्रह गरे ।
‘योग एवम् आसन, प्रणायम मात्र होइन एक अनुशासित जीवन शैली पनि हो’, खाणले भनेका छन् ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नियमित योग अभ्यासले शरीर र मस्तिष्कलाई चुस्त, स्फूर्त राखी मानिसक तथा शारीरिक विकारहरूबाट मुक्ति दिलाउन मद्धत गर्ने बताए ।
योग गर्ने व्यक्तिमा सकारात्मक सोंचको विकास हुने उल्लेख गर्दै उनले भने, ‘सकारात्मक सोँचले रिस द्वेष, बद्लाको भावनालाई समेत कम गर्छ । जसले समाजमा शान्ति र समृद्धि ल्याउन मद्दत गर्छ ।’
‘मानवताको लागि योग’ भन्ने नाराका साथ जुन २१ मा विश्वभर आठौं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा योगको बारेमा चेतना अभिवृद्धि गर्न कार्यक्रमको आयोजना गरिएको आईजीपी सिंहले बताएका छन् ।
सिंहले प्रहरी पेशामा योगको महत्वलाई मध्यनजर गरी नेपाल प्रहरीका विभिन्न तालिम पाठ्यक्रममा योगलाई समेत समावेश गरिएको बताए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले गृहमन्त्री खाणलाई कृतज्ञताको चिनो प्रदान गरेका छन् ।
सिंहले पतंजली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्र र समितिका युवा संयोजक लोकनाथ खनाललाई समेत कृतज्ञताको चिनो प्रदान गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया