गैरआवासीय नेपालीहरूको उट्पट्याङ माग

काठमाडौं । गैरअवासीय नेपालीहरूले दोहोरो नागरिकता र मताधिकार माग गरेको लामो समय भएको छ ।

गैरआवासीय नेपालीलाई दोहोरो नागरिकता र मताधिकार दिनु कत्तिको व्यवहारिक छ ? त्यो विषयमा ध्यान दिन जरुरी छ ।

नेपालको नागरिकता परित्याग गरेर स्वइच्छाले विदेशी नागरिक बनेका गैरआवासीय नेपालीहरूलाई दोहोरो नागरिकता दिनु हुँदैन । उनीहरू अहिले पनि नेपालमा आउन पाएकै छन् । घर, जग्गा, सम्पत्ति जोड्न पाएका छन् । सबै सुविधा पाएका छन् ।

यस्तो अवस्थामा उनीहरूलाई दोहोरो नागरिकता किन आवश्यक्ता पर्‍यो ? कुनै पनि नागरिकलाई दोहोरो नागरिकता दिनुहुँदैन ।

गैरआवासीय नागरिकलाई मताधिकार पनि दिनु आवश्यक छैन । निर्वाचनको बेला विदेशमा बसेका नेपालीहरू नेपालमा आएर मतदान गर्ने पनि होइनन् । विदेशमा बसेर नेपालमा उम्मेदवार बनेका नेताहरूका बारेमा उनीहरूलाई कुनै जानकारी नै हुँदैन ।

त्यस कारण कस्तो उम्मेदवारलाई मतदान गर्नेभन्ने विषयमा विदेशमा बसेर मतदान गर्छुभन्नु उचित छैन ।

गैरआवासीय नेपालीहरूलाई वैदेशिक रोजगार तथा सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्छ । उनीहरूलाई विदेशमा बसेका बेला कुनै समस्या भएमा राजदूतावासमार्फत समस्या समाधान गरिदिनुपर्छ । लगानी गर्ने वातावरण निर्माण गरिदिनुपर्छ ।

विदेशमा बसेर नेपालको राजनीति गर्न खोज्ने गैरआवासीय नेपालीहरूको माग जायज छैन । गैरआवासीय नेपालीहरूलाई नेपाल सरकारको तर्फबाट दिनुपर्ने सबै सुविधा दिनुपर्छ । तर, दोहोरो नागरिकता र मताधिकार कुनै पनि हालतमा दिनु हुँदैन ।

Published : Saturday, 2022 June 11, 7:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया