संयम हुन कांग्रेस नेता तिमिल्सिनाको अपील, मधुवन घटनाप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता जन्मजय तिमिल्सिनाले बर्दियाको मधुवन नगरपालिकामा भएको घटनाप्रति संयम हुन अपील गरेका छन् ।

मंगलबार नेता तिमिल्सिनाले अपील जारी गरेर संयम भएर समस्याको समाधान गर्न सकिने बताएका हुन् । उनले उत्तेजित र आक्रोशित हुँदा झन् समस्या हुने उनको भनाइ छ ।

बर्दियामा प्रहरीको गोली लागेर मधुवन नगरपालिका–२ कि १८ वर्षीया नवीना थारुको मुत्यु भएको घटनाप्रति तिमिल्सिनाले चिन्ता जनाएका छन् । नवीनाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका तिमिल्सिनाले शोकमा रहेको परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

उनले २२ वर्षीय राकेशकुमार चौधरी घाइते भएकोमा स्वास्थ्य लाभको कामना गरेका छन् ।

बर्दियाको खाता जैविक मार्ग लगायत आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमण बढेको भन्दै स्थानीयहरू आन्दोलनमा उत्रिएका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा नवीनाको मृत्यु भएको थियो । राकेश गम्भीर घाइते भएका थिए ।

मधुवन नगरपालिका–२ छोट्की सोनाहा गाउँकी ४१ वर्षीया अस्मिता थारुलाई चितुवाले आक्रमण गरी घाइते बनाएपछि शान्ति सुरक्षाको माग गरेर स्थानीयले ओराली बजारमा सडक बन्द गरेका थिए । सडक खुलाउन खोज्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो ।

प्रहरीका अनुसार आन्दोलनकर्मीको आक्रमणबाट ११ जना प्रहरी र ७ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

गोली चलेपछि आक्रोशित बनेका आन्दोलनकारीले प्रहरीको मोटरसाईकल र साईकल जलाइदिएका छन् ।

Published : Tuesday, 2022 June 7, 6:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया