सरकारले दिएको जिम्मेवारी आईजीपी सिंहद्वारा पूरा, प्रहरीहरूलाई दिए धन्यावाद

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले स्थानीय तहको निर्वाचन एकै चरणमा सफलताका साथ सम्पन्न गरेको भन्दै खुशी व्यक्त गरेका छन् ।

आईजीपीको जिम्मेवारी सम्हालेको एक महिना पूरा भएको अवसरमा बिहीबार प्रहरी मुख्यालय नक्सालमा पत्रकार सम्मेलन गरेर सिंहले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेल्ने सबै प्रहरी कर्मचारीहरूलाई धन्यावाद दिए ।

‘नेपाल सरकारले सुम्पिएको जिम्मेवारीमध्ये हालै एकै चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको समयमा नेपाल प्रहरीका कर्मचारीहरूले देखाएको व्यावसायिकताप्रति म निकै खुशी छु’, सिंहले भने, ‘यस कार्यको नेपाल सरकारले उच्च मूल्याङ्कन गरेको छ ।’

स्थानीय तहको निर्वाचनमा देखिएका दुर्बल पक्षलाई बिश्लेषण गरी कमजोरी देखिएमा सम्बन्धितलाई कारवाहीको दायरामा ल्याइने उनले चेतावनी दिएका छन् ।

‘संगठन प्रमुख फेरिदैमा संगठनको प्राथमिकता फेरिदैन’, उनले भने, ‘शान्ति सुरक्षा कायम राख्नुका साथै बस्तुनिष्ठ अपराध अनुसन्धान, मानवअधिकारको संरक्षण, जघन्य अपराधको अनुसन्धानलाई प्राथमिकतामा राखेर अगाडि बढ्छु ।’

संगठित अपराध अनुसन्धान एवम् नियन्त्रणमा मानवअधिकारको संरक्षण गर्दै प्रहरी संगठन अझ आक्रामक रूपमा प्रस्तुत हुने उल्लेख गर्दै उनले प्रहरीप्रतिको भरोसा कायम राख्न हालै गरिएका केही सुधारात्मक कार्यहरूबाट सुधारको संकेत देखापरेको बताए ।


आईजीपी सिंहले आगामी दिनमा प्रहरीले गरेका कामबाटै उपलब्धी प्रस्ट देखिने बताएका छन् ।

प्रहरी कर्मचारीहरूको सरूवा, बढुवा कार्यसम्पादन मूल्याङ्कन लगायत संगठनको प्रणाली अनुरूप निष्पक्ष रूपमा हुने बताएका सिंहले यूएन मिसनमा प्रहरी कर्मचारीहरूको सहभागिताको लागि पहल गर्न समिति गठन गरी प्रकृया अगाडि बढाएको बताए ।

प्रहरी संगठनको श्रीवृद्धि तथा सुदृढीकरणको लागि आगामी दिनमा समेत सञ्चारजगतबाट रचनात्मक सहयोग, सुझाव र समन्वयको सदैव अपेक्षा रहेको उनले बताएका छन् ।

यसैबीच, आईजीपी सिंहले विभिन्न तस्करी एवम् अवाञ्छित गतिविधिको साथै सामाजिक अपराधमा संलग्नलाई कानूनी दायरामा ल्याउनको लागि कानून कार्यान्वयनमा प्रहरी कर्मचारीहरू कठोर रूपमा प्रस्तुत हुनुपर्ने बताएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयमा भर्चुअल रुपमा भिडियो कन्फ्रेन्समार्फत् बिहीबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले १ नम्बर प्रदेश प्रहरी कार्यालय तथा मातहात १४ जिल्लाका जिल्ला प्रहरी कार्यालयहरू, मातहत ट्राफिक प्रहरी कार्यालय एवम् तालिम केन्द्रका प्रमुखहरूलाई निर्देशन सम्बोधनको क्रममा उक्त कुरा बताएका हुन् ।

सबै प्रदेशको आ–आफ्नो विशिष्टता अनुरुप आवश्यक सुरक्षा योजना बनाई सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने उल्लेख गर्दै सिंहले जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले आफूलाई सुम्पिएको जिम्मेवारीलाई आफ्नो नेतृत्व विकासको अवसरका रूपमा लिएर कार्यसम्पादन गर्नुपर्ने बताए ।

तस्करी, प्राकृतिक स्रोतको दोहन जस्ता गतिविधिमा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गरी अवैध क्रियाकलापमा संलग्न जो कोहीलाई पनि कानूनी दायरामा ल्याउन अझ सक्रिय भई अगाडि बढ्नुपर्ने उनले बताए ।

प्रहरी महानिरीक्षक सिंहले दण्ड र पुरस्कारमा आफू निर्मम रूपमा प्रस्तुत हुने उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले आफ्नो मातहतका कर्मचारीहरू कुनै पनि आपराधिक गतिविधिमा संलग्न नहुने गरी काम कारवाही गर्न निर्देशन दिएका छन् ।

एकै चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनको समयमा नेपाल प्रहरीका कर्मचारीहरूले निर्वाह गरेको भूमिकाको चर्चा गर्दै यस कार्यको नेपाल सरकारले उच्च मूल्याङ्कन गरेको उनले जानकारी दिएका छन् ।

कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय मातहात १४ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले आ–आफ्नो जिल्लाको शान्ति सुरक्षा सम्बन्धि विद्यमान अवस्था एवम् चुनौति, अपराध अनुसन्धान तथा नियन्त्रण, स्थानीय तहको निर्वाचनमा प्रहरीको भूमिका, भावी कार्ययोजना लगायतका विषयमा जानकारी दिए ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयस्थित वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिको साथै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरूण कुमार विसी लगायत सहभागी प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

Published : Thursday, 2022 June 2, 8:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया