दाङका सबै पालिकामा कांग्रेसले जितेर कब्जा गर्ने, उम्मेदवार जिताउन जिल्लाभरि छरिए नेताहरू

घोराही । नेपाली कांग्रेस दाङले आफ्नो पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनका उम्मेदवारहरूलाई स्थानीय तहको निर्वाचनमा जिताउन सबै शक्ति प्रयोग गरेको छ ।

दाङमा रहेका दुई उप–महानगरपालिका, एक नगरपालिका र गाउँपालिकाहरूमा गठबन्धन र कांग्रेसका उम्मेदवारहरूलाई जिताउन घरदैलो लगायतका कार्यक्रम भइरहेका छन् ।

दाङको क्षेत्र नं. १ मा केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरीले पार्टीका साथीहरूसँग समन्वय गरेर कमाण्ड सम्हालेका छन् । क्षेत्रीय सभापति भेषराज पाण्ड, केन्द्रीय सदस्य पार्वती डिसी चौधरी, केन्द्रीय सदस्य शिला खड्का, नेता जानकीलाल बस्नेतसहितका नेताहरू पनि कांग्रेस र गठबन्धनका उम्मेदवारहरूको पक्षमा मत मागेर हिँडेका छन् ।

क्षेत्र नं. २ मा कांग्रेसको लुम्बिनी प्रदेशका उप–सभापति एवम् पूर्वसांसद राजु खनालले कमाण्ड सम्हालेका छन् । खनालले घरदैलोदेखि कोषसभा तथा गोप्य भेटवार्ताहरू गरेर कांग्रेस र गठबन्धनका उम्मेदवारहरूलाई जिताउन अनुरोध गरिरहेका छन् ।

घोराही उप–महानगरपालिकामा कांग्रेसले उप–मेयरमा भुपबहादुर डाँगीलाई उम्मेदवार बनाएको छ । कांग्रेसको समर्थनमा माओवादीका नेता हेमराज शर्मा मेयरमा उम्मेदवार बनेका छन् ।

केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, राष्ट्रिय सभाकी सांसद अनिता देवकोटा, प्रतिनिधि सभाकी सांसद विमला नेपालीलगायतका नेताहरू कांग्रेसलाई जिताउन लागेका छन् ।

क्षेत्र नं. ३ मा कांग्रेस र गठबन्नका उम्मेदवारहरूलाई जिताउन केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरी अड्का जमाएर बसेका छन् । गिरीले सबै नेताहरूलाई कमाण्ड गरेर कांग्रेसको चुनाव चिन्ह ‘रुख’मा भोट माग्दै घरदैलोमा हिँड्ने गरेका छन् । उनले गठबन्धनलाई जिताउन अपील गरेका छन् ।

लुम्बिनी प्रदेशका मन्त्री डिल्लीबहादुर चौधरी पनि प्रचार प्रसारमा छन् । तुलसीपुर उप–महानगरपालिकामा कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी मेयरमा उम्मेदवार छन् ।

पार्टी सभापति शंकर डाँगीले सबैलाई मिलाएर पूरै जिल्लाभरि कमाण्ड गरिरहेका छन् ।

दाङमा राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका, लमही नगरपालिका, बंगलाचुली गाउँपालिका, बबई गाउँपालिका रहेका छन् ।

विगतमा अधिकांश पालिकाहरूमा एमालेले जितेको थियो । यस पटक कांग्रेसले सबै पालिकाहरूमा जितेर चारतारे झण्डा गाड्ने रणनीतिका साथ चुनावी अभियानमा लागेको छ ।

Published : Friday, 2022 May 6, 1:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया