मेयरमा महिलालाई जिताएर कांग्रेसले काठमाडौंमा इतिहाँस रच्नेछ : डा.प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले काठमाडौं महानगरपालिकाले इतिहाँस रच्ने बताएका छन् ।

काठमाडौंको लाजिम्पाटमा कांग्रेसले बुधबार बिहान आयोजना गरेको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले कांग्रेसले महानगरको मेयरमा महिलालाई उम्मेदवार बनाएको बताए । काठमाडौं महानगर देशको पहिलो रहेको भन्दै डा.महतले मेयरमा सिर्जना सिंहलाई जिताएर इतिहाँस राख्नुपर्ने बताएका हुन् ।

‘हामीलाई खुसी लागेको छ । पहिलो पटक महानगरपालिकाले महिला उम्मेदवार पाएको छ । हामी सबैको लागि अवसर र गौरवको कुरा हो’, डा.महतले भने, ‘उहाँ सक्षम महिला हुनुहुन्छ ।’

प्रवक्ता डा.महतले भने, ‘उहाँ प्रकाशमान सिंहको श्रीमती या गणेशमान सिंहको बुहारी भएर मात्रै होइन विद्यार्थीकालदेखि सक्रिय राजनीतिमा हुनुहुन्थ्यो ।’

‘नेविसंघको महामन्त्री हुँदा स्ववियुमा पनि जित्नुभएको थियो । जनआन्दोलन सफल बनाउन पनि उहाँ सक्रिय हुनुहुन्थ्यो’, उनले भने, ‘काठमाडौंमा धेरै हल्ला हुन्छ । सामाजिक सञ्जालमा धेरै चर्चा हुन्छ ।’

‘भोलिका दिनमा कसले महानगरपालिकालाई सुदृढ ढंगले नेतृत्व गरेर लैजान सक्छ भनेर असल नेतृत्वलाई मतदान गर्नु हुनेछ’, उनले भने, ‘मेयर सिर्जना सिंहसहित उप–मेयर, वडाध्यक्ष र सदस्यहरूलाई अत्याधिक मतले जिताउनु हुनेछ ।’

डा.महतले भने, ‘घर–घरमा पुगेर कांग्रेसका उम्मेदवारलाई भोट माग्नुपर्छ । सिर्जना सिंहलाई जिताएपछि काठमाडौं महानगरमा नयाँ इतिहाँस बन्नेछ ।’

कांग्रेसको घोषणा पत्रमा ६५ वर्षभन्दा माथिका उमेरका सबैलाई वृद्ध भत्ता दिने भनेर उल्लेख रहेको बताएका डा.महतले ७० वर्षपछि वृद्ध भत्ता पाउने निर्णयलाई कांग्रेसले जित्यो भने ६५ वर्षमा झारिने बताए । उनले वृद्ध भत्ता ५ हजार दिने भनेर घोषणा पत्रमा राखिएको बताएका छन् ।

डा.महतले भने, ‘कांग्रेसले कुरा धेरै गर्दैन । कुरा गरेर काम नगर्ने पार्टी कांग्रेस होइन । काम गर्छ । बोलेको कुरा पूरा गर्छ ।’

कार्यक्रममा मेयरकी उम्मेदवार एवम् कांग्रेस नेतृ सिंहले आफूसहित उप–मेयर, वडाध्यक्ष र सदस्यहरूलाई मतदान गरेर विजयी बनाउन अनुरोध गरेकी छिन् ।

यसैबीच, मेयरकी उम्मेदवार सिंह लाजिम्पाट र महाराजगञ्ज क्षेत्रमा घरदैलो कार्यक्रममा सहभागी भएकी छिन् । उनले मतदाताहरूसँग मत मागेकी छिन् ।

Published : Wednesday, 2022 May 4, 12:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया