गोकुल बास्कोटा फोन नउठाएर टाप, श्रेष्ठले एमाले छाडे

बनेपा । काभ्रेमा एमालेका नेता एवम् बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठले पार्टी परित्याग गरेका छन् ।

बनेपामा शनिबार पत्रकार सम्मेलन गरेर श्रेष्ठले एमाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

आफूलाई नगर प्रमुखका लागि पुनः टिकट दिन आग्रह गर्दा पनि नेताले बेवास्ता गरेकाले पार्टी सदस्य परित्याग गरेको उनले बताएका छन् ।

‘मैले गोकुल बाँस्कोटाले भनेको सबै काम कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाउने गरेको थिएँ’, उनले भने, ‘त्यहीअनुरूपमा अब आउने स्थानीय तहको निर्वाचनका लागि फेरि पनि नगर प्रमुखको टिकट मलाई नै दिनुपर्छ भनेर भन्दै आएको थिएँ ।’

‘पहिलादेखि हुन्छ भनेर मलाई आश्वस्त पार्दै आउनुभयो, निर्वाचन निजिकिँदै गर्दा मेरो फोन नउठाउने र भेट्नसमेत समय नदिएर अन्तिममा अर्कैलाई उम्मेदवार बनाएपछि त्यही पार्टीमा बस्नुको औचित्य नदेखिएकाले परित्याग गरेको हुँ’, श्रेष्ठले भनेका छन् ।

जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाले आफूलाई हुन्छ भन्दै आलटाल गरी अन्तिममा अर्कैलाई टिकट दिएको आरोप उनले लगाएका छन् ।

उनले एमालेको संगठित सदस्य रहेको आफ्नो परिवारको पाँचजनाले नै पार्टी परित्याग गरेको बताए ।

एमालेले बनेपा नगर प्रमुखको उम्मेदवारमा पार्टीका नगर अध्यक्ष रत्नकुश रञ्जितकार र उप–प्रमुखमा विमला सापकोटा दाहाललाई उम्मेदवार बनाएको छ ।

Published : Sunday, 2022 May 1, 11:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया