उत्पात मच्चाउने ३५ सञ्चार माध्यम र ४ वेबपोर्टलाई कारबाही

काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यमलाई कारवाही गरेको छ ।

दर्ता नभएका ४ वेबपोर्टललाई मुलुकभित्र सम्प्रेषण हुन नसक्ने बनाएको काउन्सिलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइ सोको जानकारी निर्वाचन आयोगलाई गराइँदै आएको उप–प्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहराले जानकारी दिएका छन् ।

निर्वाचन आचारसंहिता लागू भएपश्चात् काउन्सिलले देशभरका सञ्चार माध्यमहरूबाट आचारसंहिता पालना भए/नभएको विषयमा विशेष अनुगमन गरिरहेको छ ।

२०७८ चैत २६ गतेदेखि हालसम्म आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यममध्ये ४ वटालाई २४ घण्टे स्पष्टीकरण माग गरिएकोमा २ सञ्चार माध्यमबाट पेस भएको स्पष्टीकरण चित्त बुझ्दो नदेखिएकोले प्रथम पृष्ठमा क्षमायाचना प्रकाशन गर्न निर्देशन दिइएकोमा सोहीअनुसार प्रकाशन भएको काउन्सिलले जनाएको छ ।

२ वटाले आगामी दिनमा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्ने र सजग रहने प्रतिबद्धता जनाएका छन् ।

६ पत्रपत्रिका, ३ रेडियो, ५ टेलिभिजन र १४ अनलाइन गरी २८ वटालाई निर्देशन दिइएको र २ अनलाइनबाट निर्देशनपश्चात् पनि प्रतिकूल सामग्री पुनः सम्प्रेषण भएको देखिएकोले सचेत गराइएको छ ।

४ वटा सञ्चार माध्यमलाई ध्यानाकर्षण गराइएको बोहराले जनाएका छन् ।

दल तथा उम्मेदवारका बारेमा सूचना तथा समाचार सम्प्रेषण गर्दा विशेष ध्यान पुर्‍याउनु सञ्चार माध्यमको कर्तव्य भएकाले गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरू सम्प्रेषण हुन नदिन, कसैको पक्ष वा विपक्ष हुनेगरी र राजनीतिक दल वा उम्मेदवारको प्रतिष्ठामा आँच पुर्‍याउनेगरी सामग्री सम्प्रेषण हुन नदिनेतर्फ सजग रहन विज्ञप्तिमा भनिएको छ ।

‘तटस्थता कायम गर्दै जनमानसमा विश्वसनीयता बढाउनेतर्फ सबै सञ्चार माध्यमहरूले विशेष ख्याल गर्नुपर्छ’, काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले भनेका छन्, ‘निर्वाचनका बेला अनलाइन र सामाजिक सञ्जालका दुरुपयोग हुन नदिन झन् बढी सतर्कता अपनाउनुपर्छ ।’

काउन्सिलले दल तथा उम्मेदवारको निर्वाचन प्रचार–प्रसारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन/प्रसारण नगर्न/नगराउन, सःशुल्क विज्ञापन प्रकाशन/प्रसारण गर्दा आचारसंहिताले तोकेअनुसार साइज, समय र पटकलाई ध्यान दिन, सामाजिक सञ्जालमार्फत्बाट समेत यो वा त्यो दल र दलका उम्मेदवारको प्रचार–प्रसारलाई अतिरञ्जना नगर्न/नगराउन सञ्चार माध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा अनुरोधसमेत गरेको छ ।

Published : Wednesday, 2022 April 27, 3:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया