पर्वत कांग्रेसका सभापतिले अन्तरघातीलाई टिकट दिए, जोशीप्रवृत्तिको मल्लद्वारा विरोध
कुश्मा । नेपाली कांग्रेस पर्वतका सभापति युवराज जोशीले स्थानीय तहको टिकट वितरणका क्रममा राजनीतिक पूर्वाग्रही भएर निर्णय गरेपछि विरोध भएको छ ।
सभापति जोशीले पवर्तका पालिकाहरूमा टिकट वितरणमा एकलौटी रुपमा कब्जा गरेको नेता कार्यकर्ताको आरोप छ ।
केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको खटन–पटन र निर्देशनमा सभापति जोशीले टिकट वितरणमा मनोमानी गरेका हुन् ।
पर्वत कांग्रेसका नेता यामबहादुर मल्ल ‘रामकृष्ण’ले आफूलाई जलजला गाउँपालिकाको अध्यक्षमा पहिलो नम्बरमा सिफारिस भए पनि सभापति जोशीले राजनीतिक पूर्वाग्रही भएर टिकट काटिदिएको आरोप लगाएका छन् ।
मल्ल जलजला गाउँपालिकाको अध्यक्षमा दोहोरिन चाहेका थिए । कांग्रेसको स्थानीय नेतृत्वले मल्लको नाम १ नम्बरमा राखेर पठाएको थियो ।
पार्टीको १४औँ महाधिवेशनमा पर्वत कांग्रेसको सभापतिमा उम्मेदवार बनेका मल्ल पराजित भएका थिए ।
‘स्थानीय तहको निर्वाचनको टिकट वितरणका क्रममा पार्टी सभापति युवराज जोशीले देखाएको दम्भ र दादागिरीको घोर निन्दा गर्दछु’, सोमबार मल्लले प्रेस नोट जारी गरेर भनेका छन्, ‘यो अवस्थामा पार्टीलाई एक बनाएर लैजानपर्नेमा नेतृत्व तहबाट राम्रो र योग्य उम्मेदवारलाई पाखा लगाएर गलत व्यक्तिलाई टिकट दिने जुन काम भएको छ यो सरासर गलत छ ।’
‘नेतृत्वमा बसेर गुटको मात्रै पालनपोषण गर्ने प्रवृत्तिले पर्वतमा कांग्रेस झनै कमजोर हुने निश्चित छ’, मल्लले भनेका छन्, ‘१४औं महाधिवेशनमा मपनि पार्टी सभापतिमा झिनो मतले पराजित व्यक्ति हुँ ।’
उनले भनेका छन्, ‘अधिवेशनमा पनि जे–जस्ता क्रियाकलापहरू भए र जसरी पार्टी कब्जा गरियो त्यो पनि आम कांग्रेसजनलाई थाह नै छ ।’
‘पार्टीको आन्तरिक चुनावमा भएको कुरालाई बिर्सेर जाउँ भन्ने अभिप्रायले वर्तमान नेतृत्वले विगतमा गरेका क्रियाकलापलाई पैतालामुनि हालेको हो’, नेता मल्लले भनेका छन्, ‘मैले जलजलाको जनप्रतिनिधिको रूपमा गाउँपालिकामा गरेको उत्कृष्ट कामबाट अत्तालिएर ममाथि अनेक षडयन्त्र र तानावाना पनि बुनिएकै हो ।’
‘फेरि पनि जलजलावासीको चाहना र अझै राम्रो काम गरौं भनेर पुनः एकपटक गाउँपालिकाको अध्यक्षका निम्ति मैले आफ्नो दावा प्रस्तुत गरेको थिएँ’, मल्लले भने, ‘केही दिन पहिले जलजला गाउँ कार्यसमितिबाट अध्यक्षको लागि मेरो नाम विधिपूर्वक एक नम्बरमा सिफारिस भएर आएको थियो ।’
‘एक नम्बरमा सिफारिस भएर आएको व्यक्तिलाई पन्छाएर २०७४ को स्थानिय निर्वाचनमा बागी उठ्ने र कांग्रेस उम्मेदवारलाई हराउन भूमिका खेल्ने राजु आचार्यलाई टिकट दिने जुन खेल भएको छ, यसप्रति मेरो घोर आपत्ति छ’, नेता मल्ले भनेका छन् ।
‘जलजला मात्रै नभएर सत्ता र शक्तिको आडमा कुश्मा नगरपालिका, फलेवास नगरपालिका लगायत पर्वतका अधिकांश स्थानीय तहमा पार्टी सभापति युवराज जोशीले देखाएको दम्भ र दादागिरीको विरूद्धमा एकजुट भएर प्रतिवाद गर्न म सम्पूर्ण कांग्रेसजनमा आग्रह गर्दछु’, मल्लले भनेका छन्, ‘कांग्रेस नेतृत्वको यो प्रवृत्तिको विरूद्धमा प्रदेश र केन्द्रसम्म सशक्त आवाज उठाउने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया