काठमाडौं उपत्यकाभित्रका प्रहरी युनिटहरूको नाम परिवर्तन

काठमाडौं । सरकारले नेपाल प्रहरीको काठमाडौं उपत्यकामा रहेका प्रहरी कार्यालयहरूको नाम परिवर्तन गरेको छ ।

उपत्यकाका तीनै जिल्लाका प्रहरी युनिटहरूको नाम परिवर्तन गरिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन–२०७६ लाई अध्यादेशमार्फत संशोधन गरेका छन् ।

२०७८ वैशाख २१ मा सरकारले पहिलोपटक सो ऐन संशोधन गरेर उपत्यकाका प्रहरी युनिटहरूलाई केन्द्र मातहत ल्याउने निर्णय गरेको थियो ।

काठमाडौं उपत्यकाको कमाण्ड गर्ने तत्कालीन महानगरीय प्रहरी कार्यालयको नाम परिवर्तन गरेर काठमाडौं उपत्यका प्रहरी कार्यालय नामकरण गरिएको छ ।

काठमाडौं उपत्यकाको अपराध अनुसन्धान गर्ने इकाई महानगरीय अपराध महाशाखाको नाम काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय नामकरण गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको नाम काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय राखिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरको जिल्ला प्रहरी कार्यालयहरुलाई जिल्ला प्रहरी परिसर नामाकरण गरिएको छ ।

यसअघिका महानगरीय प्रहरी वृत्तहरुको नामको अगाडिको महानगरीय हटाइएको छ ।

नयाँ अध्यादेश अनुसार ‘प्रहरी वृत’ र त्यसपछि वृत अवस्थित ठाउँको नाम राखिएको छ ।

महानगरीय प्रहरी प्रभागहरूको नाम परिवर्तन गरेर ‘प्रहरी प्रभाग’ मात्रै राखिएको छ ।

Published : Saturday, 2022 April 23, 12:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया