एसएसपी थापाको कमाण्डमा १८० सशस्त्र प्रहरी साउथ सुडान जाने

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) पुष्पराम केसीले साउथ सुडान जान लागेको टोलीलाई विदाइ गरेका छन् ।

शुक्रबार सशस्त्र प्रहरीको मुख्यालय स्वयम्भुमा आयोजित कार्यक्रममा आईजीपी केसीले विदाइ गरेका हुन् ।

संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट (एफपीयू) वान जुवामा कार्यरत सातौं डफ्फालाई बदली गर्न त्यसतर्फ खटिई जान लागेको टोलीलाई विदाइ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

केसीले सशस्त्र प्रहरी बलको तर्फबाट शान्ति स्थापनार्थ एफपीयू मिशनमा जाने सशस्त्र प्रहरी कर्मचारीहरूलाई बधाई र सफलताको शुभकामना दिएका छन् ।

उनले सशस्त्र प्रहरी कर्मचारीहरूले चेन अफ कमाण्ड, अनुशासन र सामूहिक भावनाका साथ राष्ट्र र संगठनको नाम उच्च रहने गरी सो राष्ट्रको नियम कानूनको पालन गर्दै जिम्मेवारी निर्वाहमा जुट्ने विश्वास व्यक्त गरेका छन् ।

महानिरीक्षक केसीले टोलीलाई संयुक्त राष्ट्रसंघीय मिशनमा रहँदा विभिन्न देशका सुरक्षाकर्मीहरूसँग समन्वय तथा सहकार्य गरी मानवअधिकारको उच्च सम्मान गर्दै कुनै पनि जातजाती, भाषा, धर्म र लिङ्ग नभनी विश्व शान्ति स्थापनाको कार्यमा आ–आफ्नो ज्ञान, सीप र क्षमताको उच्चतम प्रयोग गर्दै उत्कृष्ट कार्यसम्पादनमा जुट्न निर्देशन दिएका छन् ।

कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश थापाको कमाण्डमा १६ जना सिनियर अधिकृत, ३९ जना जुनियर अधिकृत र विल्लादार जवानहरू गरी १८० जना सशस्त्र प्रहरी कर्मचारीहरू वैशाख १२ गते साँझ त्यसतर्फ प्रस्थान गर्नेछन् ।

Published : Friday, 2022 April 22, 11:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया