प्रहरीको वार्षिक तालिम क्यालेण्डर तर्जुमा गोष्ठी समापन

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा आ.व. २०७८/०७९ को तालिम समीक्षा तथा चालु आ.व. ०७९/८० को लागि नेपाल प्रहरीको तालिम क्यालेण्डर तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच गोष्ठि सम्पन्न भएको हो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक क्षेत्रीले प्रहरी जवान र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको लागि मुद्रण गरिएका सम्पूर्ण म्यानुअलहरूको प्रतिनिधिमूलक रुपमा प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको अपराध अनुसन्धान विषयको प्रशिक्षक निर्देशिका र प्रशिक्षार्थी निर्देशिका बिमोचन गरेका छन् ।

क्षेत्रीले प्रहरी सेवामा प्रवेश भएका नयाँ जनशक्तिलाई प्रहरीको काम, कर्तव्य र संगठनले निर्धारण गरेको उद्देश्य प्राप्तिका लागि तालिम प्रदायक संस्थाहरूले आधुनिक प्रशिक्षण विधिलाई अवलम्बन गर्दै लैजानुपर्ने बताए ।

आधुनिकीकरणसँगै बढ्दो अपराधिककरणलाई सहजरुपमा अनुसन्धान गर्नका लागि प्रहरी कर्मचारीहरुलाई कामको प्रकृति अनुसार तालिम प्रदान गरेमा अपराध अनुसन्धान तथा न्यूनीकरण गर्न थप सहज हुने उनले उल्लेख गरेका छन् ।

प्रहरी महानिरीक्षक क्षेत्रीले तालिम प्रदायक संस्थाहरूले प्रहरी सम्बन्धि ज्ञानमात्र नभई प्रहरी सेवामा चाहिने भाइचारा, स्वअनुशासन, आफ्नो कर्तव्यप्रति निष्ठावान र नैतिक शिक्षा प्रदान गर्न सदैव क्रियाशील हुनुपर्नेमा जोड दिएका छन् ।

समाजले चाहे अनुरुपको सेवा प्रदान गर्न र कार्यक्षेत्रमा देखिएका कमीकमजोरीलाई न्यूनीकरण गर्नका लागि तालिम प्रदायक संस्थाहरूले सोही अनुरुप पाठ्यक्रम तर्जुमा गरी प्रहरी जनशक्तिलाई तालिम प्रदान गर्नुपर्ने उनले बताएका छन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीले धन्यवाद ज्ञापन गरेका छन् ।

उनले आगामी दिनहरुमा संचालन हुने तालिम कार्यक्रमहरूलाई व्यवस्थित रुपमा संचालन गर्न र कार्यक्षेत्रमा विद्यमान चुनौतीहरूलाई सामना गर्न सक्ने सीपयुक्त एवं व्यावसायिक प्रहरी जनशक्तिको विकास गर्न यस तालिम क्यालेण्डर तर्जुमा गोष्ठी फलदायी रहने विश्वास व्यक्त गरेका छन् ।

प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा.देवबहादुर बोहराले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिष्ठानका उप–निर्देशक तथा तालिम शाखा प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले गोष्ठीको सारसंक्षेप एवम् आगामी वर्षको तालिम योजना सहितको प्रस्तुतीकरण गरेकी थिइन् ।

प्रस्तुतीकरण पश्चात प्रहरी अधिकृतहरूले सुझाव तथा टिप्पणी गरेका थिए ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा संचालित तीन दिवसीय उक्त गोष्ठीमा प्रतिष्ठानका साथै प्रदेश प्रहरी तालिम केन्द्रहरू, जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर लगायत देशभरका अन्य प्रशिक्षण कार्यालयहरूका प्रमुख, तालिम शाखा प्रमुख तथा प्रतिनिधिहरूको सहभागितामा सेवाकालीन तालिमका विषयमा विभिन्न चरणमा घनीभूत छलफल भएको थियो ।

Published : Friday, 2022 April 22, 11:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया