नागढुंगा–नौबीसे सडक छिटो बनाउनुस्, कठिनाइ छभने म सहयोग गर्छु : कांग्रेस नेता भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीले नागढुंगा–नौबीसे सडक खण्डलाई मर्मत सम्भार गरेर सहज रुपमा आवत–जावतको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठसँग आग्रह गरेका छन् ।

शुक्रबार कांग्रेस नेता भण्डारीले सचिव श्रेष्ठलाई फोन गरेर नागढुंगादेखि नौबीसेसम्मको सडक खण्ड भत्किएर यात्रुले आवागमनमा निकै कठिनाइ भोग्नुपरेको भन्दै सडक मर्मत सम्भारमा सहयोग गर्न आग्रह गरेका हुन् । उनले सडक मर्मत सम्भारमा भएको कठिनाइ छ भने त्यो कठिनाइ फुकाउन आफूले सहयोग गर्ने आश्वासन सचिव श्रेष्ठलाई दिएका छन् ।

‘नागढुंगादेखि नौबीसेसम्मको सडक भत्किएर सवारी आवागमनमा धेरै समस्या छ । यात्रुले सास्ती बेहोर्नु परेको छ’, उनले भने, ‘सडक मर्मत सम्भार गर्न कुनै कठिनाइ छभने सहजताका लागि म सहयोग गर्छु । होइन भने सडक छिटो मर्मत गरेर आवागमनमा सहजता बनाउनुस् ।’

काठमाडौं उपत्यका प्रवेश गर्ने यो सडक भत्किएको लामो समय भएको छ । सडक विभाग र सरोकारवाला निकायले मर्मत सम्भारमा लापरबाही गरेका कारण घण्टौँसम्म सवारी जाम हुने गरेको छ । यात्रुले सास्ती व्यहोर्नु परेको छ ।

रेणु यादव भौतिक पूर्वाधार तथा यातायात मन्त्री छिन् । उनले यो सडक बनाउन विषयमा ध्यान नदिएको गुनासाहरू आइरहेका छन् । मन्त्री यादव र सचिव श्रेष्ठ कानमा तेल हालेर बसेका छन् ।

नागढुंगा–नौबीसे सडक खण्ड भत्किएर हिँड्नै नसक्ने अवस्थामा छ । ठूला–ठूला खाल्डाहरू छन् । ती खाल्डामा परेर सवारी साधन अड्किने समेत गरेका छन् ।

Published : Friday, 2022 April 22, 10:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया