यस्ता छन् विप्लवका धन्दाहरू, ललितपुरमा ५ रोपनीमा बंगला, ८० विघा जमीन र ४० तोला सुन
काठमाडौं । अघिल्लो सरकारसँग तीन बुँदे सहमति गरेर खुला राजनीतिमा आएको ढोङ्ग गरेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले झुपडीमा बसेर विभिन्न संचारमाध्यमहरूलाई अन्तर्वार्ता दिएर चर्चामा आएका थिए । उनले आफ्नो घर नभएको र यही झुपडीमा बस्ने, खेतबारीमा काम गर्ने गरेको अन्तर्वार्तामा बताएका थिए । उनले हातमा काम गरेका ठेला समेत देखाएका थिए ।
विप्लवले कपिलवस्तुको शिवगढीस्थित उनकै घर नजिक छोरी–ज्वाइँको लागि पार्टीकै नाममा चन्दा उठाएर बनाएको कृषि फारममा अन्तर्वार्ता दिएर आफू श्रमसँग जोडिएको र श्रमसँग नजोडिएको कम्युनिस्ट हुन सक्दैन भनिरहेका थिए । तर, विप्लव श्रमसँग जोडिएको र झुपडीमा बसेको नाकट गरेर भित्रभित्रै बंगला तयार गरिरहेको कुरा खुलासा भएको छ । भव्य घर तयार भएसँगै विप्लव पनि ढोंगी नेता हुन भन्ने पुष्टि भएको छ ।
विप्लवले पार्टीका नाममा चन्दा उठाएर ललितपुरको हरिसिद्धिमा पाँच रोपानी जमीनमा सुविधा सम्पन्न निजी निवास तयार गरिरहेका छन् । कपिलवस्तुको शिवगढीमा नयाँ घर तयार भएको छ । सुविधा सम्पन्न घर बन्न थालेपछि पार्टीकै कार्यकर्ताहरूले विरोध गरेपछि विप्लवले अहिले हरिसिद्धिमा अस्थायी घर बनाउन लागेको भनेर जवाफ दिइरहेका छन् । विप्लवले दोस्रो बालुवाटार बनाउने खोजेको भन्दै कार्यकर्ताहरूले चर्को विरोध गरेका थिए । शुरूमा खुशीका साथ श्रम गर्न गएका कार्यकर्ताहरू विप्लवको घरमोहको विरोध गर्दै फर्किएका थिए । अहिले कार्यकर्ताहरू उक्त घर निर्माणको लागि श्रम गर्न जान छोडेको एक नेताले छन् । कार्यकर्तालाई कामदार बनाएर निर्माणको लागि जम्मा भएको चन्दा पनि बचाउने विप्लवको योजना भने असफल भएको छ ।
आफ्नै नेतृत्वमा एक दर्जन शहीदबारे पूरै बेवास्ता गरेका विप्लवले धमाधम स्थायी संरचना बनाउन लागेका छन् । विप्लवले बैंकदेखि मेडिकल कलेजसम्म निर्माणको योजना बनाएको एक नेताले बताएका छन् । शहीद परिवारका सदस्यले एकछाक खान समेत धौ–धौ भइरहेको बेला विप्लवले एउटा गाडी समेत खरिद गरेका छन् । जुन नयाँ घरको आगनमा पार्किङ गरिएको छ । अब विप्लव केही दिनमै उक्त बंगलामा बस्न थाल्ने बताइएको छ ।
विप्लवको रवाफ हेर्दा राजा महाराजाकै जस्तो छ । उनले गर्मीको समयमा ललितपुर बस्ने र जाडोमा शिवगढी बस्ने गरी दुबै ठाउँमा घर निर्माण गर्न कार्यकर्तालाई निर्देशन दिएका थिए । दुबै ठाउँमा घर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । विप्लव समूहका एक कार्यकर्ताले तयार भएको बंगलाको फोटो सार्वजनिक गरेका छन् ।
योसँगै सुविधा नपाएपछि र मन्त्री हुन नपाएपछि प्रचण्डबाट मोहन वैद्यलाई हतियार बनाएर पार्टी विभाजन गरेको पुष्टि भएको एक केन्द्रीय सदस्यले बताए । उनले विप्लव यति ढोंगी होलान् भनेर आफूले कल्पना समेत नगरेको बताए । विप्लव क्रान्ति नभएर प्रचण्डले अवसर नदिएकै कारण अलग भएको पुष्टि भएको छ । नेकपाकै नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले समेत एउटा युट्युब च्यानलसँगको अन्तर्वार्तामा विप्लवले दुई वटा घर र दुई वटा गाडी किनेको तथा आफूहरू धुलोखाएर हिँडेको समेत बताएका छन् ।
८० बिगाहा जमिन खरिद
विप्लवले तीन बुँदे सहमतिपछि लामो समय शिवगढीमै बिताउने गरेका छन् । उनले प्रतिबन्धको बेला लडाइँ लड्ने भनेर उठाएको चन्दाबाट शिवगढीमा ८० बिगाहा जमीन किनेको एक नेताले बताएका छन् । विप्लवले उक्त जमिन सामूहिक उत्पदानको लागि भनेर खरिद गरेपनि आफ्नै परिवार र आसेपासेका नाममा दर्ता गरेर राखेका छन् । उक्त जमीन न पार्टीका दुःख पाएका कार्यकर्ता छन्, न भोकभोकै जीवन बिताइरहेका शहीद परिवारका सदस्य । उक्त जमीनमा लगाइएको खेती भित्र्याइएको छ । चन्दा उठाएर बचेको पैसा पचाउन विप्लवले खेती गरेको नाटक गरेको उनकै नेता कार्यकर्ता बताउन थालेका छन् । ‘महासचिव कमरेडले क्रान्तिका नाममा उठाएको चन्दालाई वैधानिक गर्नलाई खेती गरेको नाटक गरिरहनुभएको छ’, एक नेताले भनेका छन् ।
त्यसैगरी विप्लवले तीन बुँदे सहमतिपछि बन्दीपुरमा बसेको ११औं केन्द्रीय समितिको बैठकभन्दा अलिदिन अगाडि ४० तोला सुन पनि खरिद गरेको एक नेताले बताएका छन् । उक्त सुन कहाँ राखिएको छ भन्ने कसैलाई पनि थाहा छैन ।
घर किन्ने पार्टीबाट निर्णय
विप्लवले आफू र प्रवक्ता खड्कबहादुर विश्वकर्माका लागि घरलाई वैधानिकता दिन पार्टीबाटै सचिवालय सदस्यका सदस्यलाई घर किन्ने निर्णय गरे । यो आइडिया प्रवक्ता विश्वकर्माले ल्याएको बताइएको छ । उनी काठमाडौंको कपनमा रिमोटबाट ढोका खुल्ने अत्याधुनिक घरमा बस्दै आएका छन् । उनले उक्त घर कब्जा गरी बसेका हुन् । विश्वकर्मा बस्ने घर र विप्लवले निर्माण गर्न लागेका घरको कार्यकर्ताबाट विरोध हुन थालेपछि पार्टीबाटै निर्णय गराएका हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरू सुविधाभोगी भए उनीहरूले क्रान्ति गर्दैनन् भन्दै अलग भएका विप्लव–विश्वकर्मा यति चाँडै निजी सम्पत्तिप्रति लोभिएकोमा पुराना सहकर्मीहरू दंग गरेका छन् ।
सांस्कृतिक रुपमा पनि विप्लव–विश्वकर्मा पतन
कम्युनिस्टहरू सांस्कृतिक रुपमा बलियो वा नैतिकवान हुन्छन् भनिन्छ तर, नेपालका कम्युनिस्ट नेताहरू सांस्कृतिक रुपमा पनि निकै कमजोर छन् । त्यसबाट विप्लव पनि अछुतो छैनन् । विप्लव र प्रवक्ता बिकका छोरा क्रमशः प्रकाश चन्द र नरेन्द्र बिक अविवाहित हुन् । तर, दुबै जना लिभिङ दुगेदरमा बसिरहेको एक विद्यार्थी नेताले बताए । विप्लवको छोरा प्रकाशसँगै पढेकी थापा थरकी एमबीबीएस डाक्टरसँग लामो समयदेखि लिभिङ टुगेदरमा बसिरहेको चर्चा छ । उता विश्वकर्माका छोरा नरेन्द्र यसअघि एक विदेशी महिलासँग लिभिङ टुगेदरमा बस्दै आएका छन् । उनीहरू प्रतिबन्धको बीचमा दरबारमार्गको एक सुविधा सम्पन्न होटलमा लामो समय बसेका थिए । नगरेन्द्रले आफ्नै संगठनकी एक नेतृसँग अनैतिक सम्बन्धमा रहेको पनि व्यापक चर्चा भएको थियो । केही विद्यार्थी नेताहरूले कुरा उठाएपछि तत्कालीन अध्यक्षले चिरञ्जीवी ढाकालले विवाद मिलाएका थिए ।
प्रकाश र नरेन्द्रका कुरा केन्द्र पार्टीसम्म पुगेपछि प्रवक्ता विश्वकर्माको योजनानुसार पार्टीमा यो विषयलाई घुमाउरो रुपमा घुसाइयो । विप्लवले समय फरक भएको भन्दै बैठकमा अब लिभिङ टुगेदरमा बस्न सकिने धारणा राखेको एक नेताले बताएका छन् । उनले उक्त बैठकले लिभिङ टुगेदर बस्न पाउने सैद्धान्तिक सहमति जुटाएको एक नेताले बताए । अब विप्वल समूहमा लिभिङ टुगेदर बस्दैमा कारवाही नहुने भएको छ । आफ्नो छोराका सांस्कृतिक विचलनलाई बचाउन यो निर्णय गरिएको विप्लव समूहका नेताहरू बताउँछन् । नेता चिरन पुन पनि लामो समयदेखि एक जना पूर्व रक्तिमकी कलाकारसँग लिभिङ टुगेदरमा बस्दै आएका छन् । प्रतिबन्धको बेला एक महिला नेतृसँग अनैतिक सम्बन्धमा रहेको थाहा पाएपछि पार्टीकै कार्यकर्तामाथि भौतिक कारवाही गरिएको थियो । त्यसको विरोध गर्ने अर्का एक कार्यकर्ताको हत्या गर्ने योजना बनाएका थिए । तर, कारवाहीको जिम्मा पाएकाहरूले नै उनलाई पूर्व सूचना दिएर भगाएको उपत्यकामा कार्यक्षेत्र भएका एक नेताले बताए ।
विप्लवले ग्रहशान्ति गरे
कम्युनिस्टहरूले धामी, भाँक्री वा धर्म कर्ममा विश्वास गर्दैनन् भनिन्छ । तर, नेपालका कम्युनिस्ट भाषण एउटा गर्छन् र भित्री अर्कै । कम्युनिस्टहरूमा सबैभन्दा आफूलाई बढी क्रान्तिकारी ठान्ने विप्लवले ग्रह शान्ति गरेका छन् । प्रचण्डले भैँसीको पूजा गरेको भन्दै विरोध गर्दै आएका विप्लवले एक ज्योतिषसँग ग्रहशान्ति गरेका हुन् ।
तीन बुँदे सहमतिपछि विप्लवले एक ज्योतिषले भनेअनुसार ग्रहशान्ति गराएर हातमा औंठी पनि लगाएका थिए । तर, कार्यकर्ताले विरोध गरेपछि अहिले हटाएका छन् । विप्लवको कार्यालयका एक सदस्यका अुनसार हातको औंठी हटाएपनि बुटी सँगै बोक्छन् । कसैसँग महत्वपूर्ण छलफलमा जानुअघि विप्लवले उक्त बुटीलाई भित्री खल्तीमा राखेर जाने गरेका छन् । ज्योतिषले उक्त बुटी साथमा राखेपछि भनेको कुरा अरुले सुन्ने र अरुमाथि हावी हुने बताएका थिए । सोहीअनुसार विप्लव आजभोलि बुटी बोकेर हिड्छन् ।
तर, विप्लवको बुटीले पार्टीको केन्द्रीय समिति बैठकमा भने काम लागने । चुनावमा सहभागी हुने विप्लवको राजनीतिक प्रस्ताव अल्पमतमा पर्यो । कुल ६८ जनामा विप्लवको पक्षमा खुलेर बोल्ने १० जना जति पनि पुगेनन् । त्यसपछि बैठकलाई रोकेर विप्लवले वान टु वान छलफल गरे । कार्यालयका एक सदस्यका अनुसार उक्त छलफलमा पनि विप्लवले बुटी बोकेरै जान्थे तर, कसैले पनि मानेन् । अल्पमतमा परेपछि आफ्नो प्रस्तावबाट विप्लव पछि सर्न बाध्य भएका थिए । बैठकमा पछि हटेपनि अहिले प्रवक्ता विश्वकर्मा र विप्लव दल दर्ताको लागि चुनाव सार्ने अझैं प्रयास गरिरहेका छन् । यसको लागि राष्ट्रपति विद्यादेवी भण्डारी, निर्वाचन आयोगसहित अन्य पार्टीका शिर्ष नेताहरूसँग पनि छलफल अनुनय विनय गरिरहेका छन् । जेलमा भएका नेता कार्यकर्ताहरूलाई छुटाउनभन्दा पनि कसरी चुनावमा जाने भन्नेमा चिन्ता विप्लवलाई बढेको छ ।
(यो समाचार रिपब्लिका दैनिकलाई नेकपा निकटका एक नेताको मेलबाट प्राप्त भएको हो । यस विषयमा प्रतिक्रिया लिन विप्लव र खड्गबहादुर विश्वकर्मासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । उहाँहरूको कुनै प्रतिक्रिया भए मेलबाट पठाउन सक्नु हुनेछ )
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया