गृहमन्त्रीसँग भुवन, जोगिन्दर, अनमोलसहितका चर्चित कलाकारहरूद्वारा भेट, सुनाए कलाक्षेत्रका समस्या

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका गृहमन्त्री बालकृष्ण खाणले कलाकार र चलचित्र निर्माताहरूसँग भेटघाट गरेका छन् ।

बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा खाणले चलचित्र क्षेत्रले भोग्नु परिरहेको समस्या समाधान गर्न आफूले पहल गर्ने बताएका हुन् ।

जनतालाई राष्ट्र, राष्ट्रियता, सस्कृति र रहनसहनबारे कलाको माध्यमबाट जानकार बनाउने कलाकारलाई सम्मान गर्नु सरकारको दायित्व भएको गृहमन्त्री खाणले बताए ।

कलाकार र चलचित्र निर्माताहरूले राष्ट्रिय चलचित्र नीति २०७१ कार्यान्वयनमा ल्याउने पहल गरिदिन गृहमन्त्री खाणलाई आग्रह गरेका छन् ।

कलाकारहरूका समस्या सुन्न गृह मन्त्रालयमा बोलाएकोमा कलाकर्मीहरूले गृहमन्त्री खाणलाई धन्यवादसमेत दिएको कांग्रेस निकटको नेपाल सांस्कृतिक संघका महासचिव समेत रहेका हास्य अभिनेता शिवहरि रिजाल ‘जोगिन्दर पानवाला’ले जानकारी दिए ।

अभिनेता भुवन केसी, नायिका एवं हास्य कलाकार दीपाश्री निरौला, चलचित्र निर्माता नवलसिंह खड्का, गायक हेमन्त शर्मालगायतले गृहमन्त्रीले आफूहरूलाई मन्त्रालयमा बोलाएर आफ्ना समस्या राख्न दिएकोमा आभार व्यक्त गरेका छन् ।

उनीहरूले विभिन्न पदकबाट राज्यले सम्मान गरेपछि आफूहरूलाई कला क्षेत्रमा केही गर्नुपर्छ भन्ने उर्जा प्रदान गरेको समेत बताएका छन् ।

चलचित्र निर्माणमा भोग्नु परेका समस्याबारे गृहमन्त्री खाणलाई अवगत गराउँदै उनीहरूले त्यसमा सहजीकरण गर्ने वातावरण निर्माण गरिदिन आग्रह गरेका छन् ।

गृहसचिव टेकनारायण पाण्डेसमेत सहभागी भेटघाटमा विदेशी चलचित्रले नेपालबाट बाहिर पैसा लैजाने तर, नेपाली चलचित्र बाहिर गएर नेपालमा पैसा भित्र्याउन सक्ने अवस्था नरहेको भन्दै कलाकारहरूले नेपाली चलचित्रलाई विदेशमा समेत चल्न सक्ने बनाउने नीति निर्माणको पहल गरिदिन आग्रह गरेका छन् ।

अभिनेता भुवन केसी, हास्य कलाकार शिवहरि रिजाल ‘जोगिन्दर पानवाला’, गायिका राधिका हमाल, दीपाश्री निरौला, नवलसिंह खड्का, हेमन्त शर्मा, नायक अनमोल केसीलगायत एक दर्जन बढी कलाकारहरूले गृहमन्त्री खाणलाई भेटेका थिए ।

Published : Thursday, 2022 April 21, 8:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया