घोराही कांग्रेसले माओवादीलाई मेयर स्वीकार नगर्ने, रोशनीकाण्डमा परेका महराको योजना तुहाइदिने
घोराही । नेपाली कांग्रेस घोराही नगरसमितिले जनभावना र अघिल्लो निर्वाचनको मत परिणामलाई मूल्यांकन गरेर स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गर्नुपर्ने माग गरेको छ ।
नगरसमितिले मंगलवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर गठबन्धनका नाममा २०७४ सालको स्थानीय तह निर्वाचनको मुख्य प्रतिष्पर्धी पार्टीलाई अलग्याउँदा परिणाम राम्रो नआउने चेतावनी दिएको हो ।
गठबन्धनमा भागबन्डा गर्दा घोराही उप–महानगरपालिकाको मेयरमा माओवादीका उम्मेदवारले टिकट पाउने सम्भावना बढेपछि कांग्रेसले कमजोर जनमत भएको पार्टीलाई टिकट नदिन नेतृत्वलाई आग्रह गरेको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा मुख्य प्रतिष्पर्धी कांग्रेस भएको र दाङ क्षेत्र नं. २ अन्तर्गतका दुई पालिकाहरूमध्य घोराही उप–महानगरपालिकाको प्रमुख कांग्रेसलाई दिनुपर्ने नेपाली कांग्रेस घोराही उप–महानगरपालिका नगर सभापति तिलक रावतले बताए ।
उनले गठबन्धनका नाममा दुई नम्वर क्षेत्रका स्थानीय तहहरूमा कांग्रेसलाई शून्य बनाउन नसकिने बताएका छन् ।
सभापति रावतले कांग्रेसको केन्द्रीय नेतृत्वलाई उचित निर्णय लिन आग्रह गरेका छन् ।
‘अघिल्लो स्थानीय तह निर्वाचनको मत परिणाम र गठबन्धनले तयार गरेको उम्मेदवार चयनको मापदण्डअनुसार घोराहीको नेतृत्वमा कांग्रेसको स्वाभाविक रुपमा हक छ’, नगर सभापति रावतले भने, ‘आफ्नो राम्रो जनमत भएको क्षेत्र कमजोर माओवादीलाई दिन सकिदैन ।’
उनले गत स्थानीय तह निर्वाचनमा घोराहीको नगर प्रमुख र उप–प्रमुखका उम्मेदवारहरू जीवन शर्मा र सीता चौधरीले माओवादी छोडीसकेकाले स्वभाविक रुपमा माओवादीले समेत कांग्रेसलाई सहयोग गर्नुपर्ने बताए ।
पत्रकार सम्मेलनमा कांग्रेसको लुम्विनी प्रदेश सदस्य जानका केसी, जिल्ला सदस्यहरू बद्री खड्का, खेमराज विश्वकर्मा, कांग्रेसको क्षेत्र नं. २ का सह–सचिव रमेश पाण्डेयलगायत कांग्रेसको घोराही नगर समिति, वडा सभापतिहरूको सहभागिता रहेको थियो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा तेस्रो पोजिशनमा रहेको माओवादी केन्द्रले घोराही उप–महानगरपालिका माग गरेपछि घोराही कांग्रेसले नमान्ने चेतावनी दिएको छ ।
माओवादीका नेता कृष्णबहादुर महराले घोराहीलाई आफ्नो कब्जामा राख्न र प्रतिनिधि सभामा उम्मेदवार बन्ने रणनीति स्वरुप गठबन्धनका नाममा मेयर लिन खोजेका छन् ।
रोशनी काण्डमा परेर सभामुख पद फुत्काएका महरा दाङ क्षेत्र नं. २ बाट जितेका थिए । एमालेको काँधमा चढेर जितेका महरा अबको निर्वाचनमा कांग्रेसको काँधमा चढेर जित्ने सपना देखेका छन् । उनको यो सपना घोराही कांग्रेसले पूरा हुन दिनेछैन ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया