आचारसंहिता उल्लंघन गरे तत्काल कारवाही हुन्छ : अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले चुनावका बेला फेक न्यूजको कारखाना नै चल्न सक्ने खतरा औंल्याउँदै समाचार छाप्नुअघि सचेत रहन सञ्चारकर्मीहरूलाई आग्रह गरेका छन् ।

विभिन्न सञ्चार संस्था भन्दै स्वदेश एवम् विदेशतिरबाट त्यस्ता प्रायोजित समाचार बन्न सक्नेभन्दै नेपाली मिडियाले साभार गर्दा विशेष ख्याल पुर्‍याउनुपर्ने उनको सुझाव छ ।

निर्वाचन आयोगले प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको सहकार्यमा मंगलबार आयोजना गरेको सञ्चारकर्मीहरूको एकदिने अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले मिथ्या सूचना, दुस्प्रचार र गलत समाचार दिनबाट जोगिनुपर्ने बताए ।

‘चुनावका बेला दिग्भ्रमित बनाउनका लागि फेक न्यूजका कारखाना खुल्न सक्छन् । कुनै समाचार संस्थाको नामबाट त्यो आउन सक्ला’, उनले भने, ‘हामीले हतारिएर त्यसलाई कभरेज गर्नतिर नलागौं । आफैले स्वतन्त्र पुष्टि गरौैं ।’

उनले विश्वसनीयताकै कारण पत्रकारिता जगत बलियो हुने भएकाले त्यसलाई जोगाउन सञ्चारकर्मी स्वयम जुट्न आग्रह गरेका छन् ।

आयोगले चुनावका क्रममा मिडियाको आचारसंहिताबारे अनुगमनको जिम्मेवारी काउन्सिललाई दिएको छ ।

काउन्सिलले रेडिया, टिभी, छापा, अनलाईन र सामाजिक सञ्जालको अनुगमनको काम वैशाख १ गतेदेखि नै सुरु गरिसकेको जानकारी दिँदै आचारसंहिता उल्लंघन गरेको पाइए तत्काल कारवाही हुने समेत उनले बताएका छन् ।

Published : Wednesday, 2022 April 20, 9:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया