महामन्त्री थापाद्वारा गठबन्धनको बैठक बहिस्कार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा पाँच दलीय सत्ता गठबन्धनको बैठकमा अनुपस्थित भएका छन् ।

सोमबार बसेको गठबन्धनको बैठकमा थापा सहभागी नभएका हुन् ।

महानगरपालिका र उप–महानगरपालिकाका स्थानीय नेता कार्यकर्ताको भावनाविपरीत केन्द्रबाटै चुनावी तालमेल गर्ने प्रयास हुन थालेपछि थापाले असन्तुष्टि जनाएका हुन् ।

महामन्त्री थापा गठबन्धनको दिनभरि बसेका कुनै पनि बैठकमा सहभागी भएनन् ।

सभापति शेरबहादुर देउवाले महामन्त्री थापालाई गठबन्धनका बैठकमा बोलाउने गरेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको कार्यदलमा समेत सदस्य छन् ।

महामन्त्री थापा गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने पक्षमा छैनन् । सभापति देउवा गठबन्धनको पक्षमा छन् ।

सत्ता गठबन्धनमा छ महानगर र ११ उप–महानगरमा सिट भागबण्डाको प्रयास भइरहेको छ ।

सबैजसो ठाउँबाट कांग्रेसका नेता कार्यकर्ताले तालमेल गर्न नसकिने भनिरहेका छन् ।

अहिलेसम्म नेपाली कांग्रेसका विराटनगर, वीरगन्ज र काठमाडौं महानगरपालिकाले चुनावी तालमेल नै आवश्यक नभएको निर्णय गरेका छन् ।

भरतपुर, ललितपुर र पोखरा महानगरपालिकाले पनि कांग्रेसले मेयर नपाए गठबन्धन गर्न नसकिने अडान राखेका छन् । उप–महानगरमा पनि त्यस्तै विरोध छ ।

Published : Monday, 2022 April 18, 10:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया