बालुवाटारको दोस्रो बैठकमा कुरा मिलेन, सकारात्मक छलफल

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा रहेको ५ दलीय गठबन्धनको बैठकमा महानगर र उप–महानगरपालिकाको विषयमा सहमति खोज्न बसेको बैठक सकारात्मक दिशातर्फ गएको छ ।

बालुवाटारमा सोमबार बेलुका दोस्रो पटक बसेको बैठकमा चुनावी तालमेल तथा स्थानीय तहमा सिट बाँडफाँडको विषयमा छलफल भएको थियो । बैठकमा सहमति जुटाउन बसेपनि ठोस सहमति हुन सकेको छैन ।

नेताहरूले बैठक सकारात्मक भएको बताएका छन् । बैठक मंगलबार पुनः बसेर सहमति जुटाउन प्रयास हुनेछ ।

कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उप–सभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्कीको बैठकमा उपस्थिति थियो ।

माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङको उपस्थिति थियो ।

नेकपा (एकीकृत समाजवादी)बाट माधव नेपाल, वेदुराम भुसाल, विजय पौडेलको उपस्थिति रहेको थियो ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट अध्यक्ष उपेन्द्र यादव, नेता बाबुराम भट्टराई र अशोक राई तथा राष्ट्रिय जनमोर्चाका नेता हिमाल पुरीको बैठकमा सहभागिता रहेको थियो ।

बैठकमा माओवादी र एकीकृत समाजवादीले आफ्नो हैसियतभन्दा धेरै माग गरेपछि कुरा नमिलेको एक नेताले बताएका छन् ।

Published : Monday, 2022 April 18, 6:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया