पल शाहलाई बलत्कार अभियोग लगाएकी नाबालिकाले बयान फेरिन्, सफाइ पाउने सम्भावना बढ्यो

दमौली । नाबालिका गायिका बलत्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहविरुद्धको बयान फेरिएको छ ।

नाबालिकाले अदालतमा बयान फेरेको कानून व्यवसायीहरूले बताएका छन् ।

जिल्ला अदालत, तनहुँमा आइतबार बकपत्रका क्रममा नाबालिका गायिकाले आफूमाथि बलात्कार नभएको बताएकी छिन् ।

प्रहरीले जबरजस्ती विभिन्न कागजातहरूमा हस्ताक्षर गर्न लगाएको ती बालिकाले बयानमा बताएकी छिन् ।

अदालतमा बकपत्रका क्रममा नबालिका गायिकाले बयान फेरेकी छिन् ।

जिल्ला अदालत, तनहुँमा आइतबार साँझसम्म पनि जाहेरीकर्ता र पीडितको बकपत्र लिने क्रम चलेको छ ।

पीडित र जाहेरवालाले बकपत्रमार्फत बयान फेरेसँगै पल शाहले सफाइ पाउने सम्भावना बढेको छ ।

कतिपय मुद्दामा बकपत्र फेरिएसँगै पीडकले सफाइ पाएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताएका छन् ।

उनले भने, ‘पीडितले नै होइन भनेपछि अदालतले सफाइ दिन सक्ने भयो । पीडितमाथि नै कारबाही हुन पनि सक्छ । यसअघि अदालतले यसरी फैसला गरेका प्रशस्त उदाहरण छन् ।’

अधिवक्ता मोहना अन्सारीले आइतबार पीडितको बकपत्र भएको बताएकी छिन् । बकपत्र गर्ने क्रममा नबालिकालाई प्रलोभन दिइएको देखिएको अन्सारीले दाबी गरेकी छिन् ।

नबालिकाका बुबाले फागुन ११ गते जिल्ला प्रहरी कार्यालय, तनहुँमा जबरजस्ती करणीमा किटानी जाहेरी दिएका थिए ।

शाह अहिले पुर्पक्षका लागि जिल्ला कारागार, तनहुँमा छन् ।

Published : Sunday, 2022 April 17, 7:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया