निर्वाचन प्रचारमा कांग्रेसले कार्यक्रमको यस्तो ढाँचा पठायो

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय चुनावको प्रचार–प्रसारका कार्यक्रममा दुई जना मात्रै वक्ता राख्न निर्देशन दिएको छ ।

कांग्रेसले नेताका भाषणमा धेरै समय खर्च नगर्न आन्तरिक आदेश दिएको छ ।

टोलमा बढीमा एक घन्टाभित्रै भाषणका कार्यक्रम सक्नुपर्नेछ ।

पालिकास्तरमा बढीमा दुई घन्टामा भाषण सक्नुपर्ने कांग्रेसको निर्देशन छ ।

उप–सभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको चुनावी परिचालन समितिले टोल र वडामा एक घन्टा र पालिकास्तरका कार्यक्रममा दुई घन्टाभित्र भाषण सक्ने गरेर कार्यक्रम राख्न आदेश दिएको छ ।

कांग्रेसले चुनावी प्रचारका सभामा चार जनालाई मात्रै मञ्चमा आसनग्रहण गराउने भएको छ ।

सभापति, प्रमुख अतिथि, गठबन्धन रहेका दलका प्रतिनिधि, उम्मदेवारलाई आसनग्रहण र अरूलाई सामूहिक आसनग्रहण गराउन भनिएको छ ।

कांग्रेसले चुनावी सभाका कार्यक्रमको ढाँचासमेत पठाएको छ ।

आसन ग्रहण, स्वागत मन्तव्य, राष्ट्रिय गान, मौनधारण, दुई वक्ताको मन्तव्य, सदस्यता वितरण र सभा विसर्जन ढाँचामा कार्यक्रम चलाउनुपर्नेछ ।

चुनावी सभा गर्दा आचारसंहिता उलंघन नगर्न पनि कांग्रेसको निर्देशन छ ।

गठबन्धनमा रहेका दलसँग तालमेल नभएका सभामा मात्रै पार्टी सदस्यता वितरण गर्नुपर्ने पनि कांग्रेसको निर्देशन छ ।

Published : Friday, 2022 April 15, 9:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया