ओखलढुंगामा गाडी पल्टिँदा ३ जना प्रहरीको मृत्यु, ४ जना घाइते

मानेभञ्ज्याङ । ओखलढुङगा जिल्लामा गाडी दुर्घटना हुँदा तीन जना प्रहरी कर्मचारीहरूको मृत्यु भएको छ ।

बुधबार बिहान मानेभञ्ज्याङ गाउँपालिका–६ हर्कपुरस्थित सिद्दिचरण राजमार्गमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरतर्फ जाँदै गरेको बा.१७ च १०९४ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा ३ प्रहरीको मृत्यु भएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

गाडी सडकबाट १ सय ५० मिटर तल खसेरको थियो ।

दुर्घटनामा प्रहरी हवल्दार भुपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको घटनास्थलमै तथा प्रहरी जवान रूपन बिष्टको नेपाल प्रहरी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनामा घाइते भएका ४ जना प्रहरी कर्मचारी र बोलेरो चालकको नेपाल प्रहरी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।

उता, अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ अर्बखास्थित सडकमा लु.२ त ९३७१ नम्बरको ट्याक्टरको ट्रलीबाट खसेर ट्याक्टरको चक्काले किच्दा सोही ठाउँ बस्ने रोमबहादुर कुमालकी छोरी १२ वर्षीया नहमुना कुमालको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ भाडेबजारस्थित सडकमा से.१ ज ६७३ नम्बरको जिप सडकबाट अन्दाजी ४ सय मिटर तल सेती नदीमा खसेर बुधबार बिहान दुर्घटना हुँदा चालक सोही गाउँपालिका–३ बामनडाडा बस्ने ५० वर्षीय जयबहादुर सार्कीको मृत्यु भएको छ ।

मोरङको रतुवामाई नगरपालिका–२ डोरीयास्थित खेतमा को.२ त ९७ ४४ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने ६५ वर्षीया लेप्का मियाँनीको बुधबार बिहान मृत्यु भएको छ ।

खेतमा गहुँ माड्ने क्रममा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Published : Wednesday, 2022 April 13, 7:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया