गठबन्धनलाई कांग्रेसले धोका दिन्न : गृहमन्त्री खाण

म्याग्दी । गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले सत्ता गठबन्धन नभत्किने बताएका छन् ।

शुक्रबार म्याग्दी कांग्रेसको कार्यक्रममा खाणले संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको गठबन्धनलाई स्थानीय तहको निर्वाचनसम्म पुर्‍याएर सफलता हासिल गर्नुपर्ने बताए ।

खाणले सत्ता गठबन्धनका पक्षमा सकारात्मक वातावरण पार्न कार्यकर्तालाई निर्देशन समेत दिए । गठबन्धनले स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने निर्णय गरेकाले यो निर्णयको पक्षमा सशक्त भएर उभिन कांग्रेस नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

‘गठबन्धनप्रति मेरो पूर्ण विश्वास छ । गठबन्धनका लागि हामीले उनीहरुलाई वचन दिएका छौं’, उनले भने, ‘खोला त¥यो लौरो बिस्र्यो त गर्नु भएन नि !’

‘गठबन्धनमा आवद्ध दललाई हामीले पूरा विश्वास दिलाएका छौं’, उनले भने, ‘कांग्रेसले उनीहरूप्रति विश्वासघात गर्नुहुँदैन ।’

केपी ओलीको सरकारले संविधान र लोकतन्त्रमाथि प्रहार गरेकाले त्यसका विरुद्ध संसदमा भएका माओवादी लगायतका दलहरूसँग सहकार्य गरेर कांग्रेसले मुलुकलाई बचाएको उनको भनाइ थियो ।

‘हामी संसदमा सानो संख्यामा थियौं, कांग्रेस एक्लैले मुलुकलाई सहिबाटोमा ल्याउन सक्ने अवस्था थिएन’, उनले भने, ‘माओवादीलगायत अन्य साना दलहरुको सहयोगले नै कठिन परिस्थितिमा मुलुकको नेतृत्व गर्ने अवसर हामीले पाएका छौं यो कुरा बिर्सिनु हुँदैन ।’

उनले उनले भने, ‘कांग्रेस स्थानीय तह निर्वाचनमा गठबन्धनका पक्षमा उभिएको हो ।’

खाणले नेपाल छन्त्याल संघको सातौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै छन्त्याल जातिको पहिचान, कला संस्कृति संरक्षणका लागि सरकारले प्राथमिकतामा राखेको बताए ।

संविधानले समावेशीतालाई अँगालेकाले राज्यका सबै निकायमा छन्त्याल जातीको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न सरकार लागेको उनको भनाइ थियो ।

कार्यक्रममा आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, नेपाल तरुणदलका अध्यक्ष विद्वान गुरुङ, कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा, संविधानसभा सदस्य रेशमबहादुर बानियाँ लगायतले बोलेका थिए ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष मोहन छन्त्यालले बताए ।

२ दिनसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरका करिब ३ सय ५० जना प्रतिनिधि बेनीमा भेला भएका छन् ।

Published : Saturday, 2022 April 9, 2:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया