कांग्रेसका अधिकांश नेताहरू आवश्यक्ताको आधार तालमेल गर्न तयार

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा पार्टीलाई कसरी मजबुत बनाउने भन्नेबारेमा सुझावहरू आएको बताएका छन् ।

सोमबार ललितपुरस्थिात पार्टी मुख्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै डा.महतले भने, ‘पार्टीलाई स्थानीय तहको निर्वाचनमा कसरी मजबुत गराउने ? विषयमा केन्द्रीय सदस्य र पदाधिकारीहरूले धारणा राख्नुभएको छ ।’

‘घर–घर जाऔँ, कांग्रेसलाई जिताऔँ’ अभियानको मूल्याङ्कन भएको उनले बताएका छन् ।

‘साथीहरू जो जिल्ला–जिल्लाहरूमा खट्टिनुभएको थियो, उहाँहरूको सुझाव र प्रतिवेदनमाथि पनि छलफल भयो’, डा.महतले भने, ‘पार्टीको यथार्थस्थितिको पनि समग्रमा मूल्यांकन भयो ।’

उनले भने, ‘देशमा जुन गठबन्धनको सरकार छ, विशिष्ठ परिस्थितिमा जनु गठबन्धन सरकार बनेको छ, लोकतान्त्रिक मूल्य र मान्यता, संवैधानिक मर्यादाहरूलाई कमजोर गर्ने काम ओली सरकारबाट भयो । त्यो परिस्थितिमा यो गठबन्धन बनेको हो ।’

‘केन्द्रीय कार्यसमितिको बैठकमा अधिकांश साथीहरूले तालमेल र आवश्यक्ताको आधारमा, आवश्यक्ताको सिद्धान्तमा तालमेल गठबन्धन गरेर जाँदा पार्टी मजबुद हुने र आउने संसदीय निर्वाचनमा पनि पार्टीले जित्ने परिस्थिति निर्माण हुन सक्ने त्यो किसिमको सुझाव र सल्लाह धेरै अधिकांश साथीहरूको आएको छ’, प्रवक्ता डा.महतले भनेका छन् ।

‘यद्यपि, कतिपय साथीहरूको मत गठबन्धन नगरिकन, तालमेल नगरिकन एक्लै पार्टी गएर, पार्टीलाई परीक्षण गर्नुपर्छ भन्ने मतहरू पनि आएको थियो’, उनले भनेका छन् ।

‘अधिकांश मत तालमेल, समझदारी, गठबन्धन गरेर जाने, त्यसमा कुन ठाउँमा पार्टीको कस्तोखाले बस्तुस्थिति छ ? त्यसका आधारमा कहाँ तालमेल गर्ने ? कहाँ नगर्ने ? मित्रवत प्रतिस्पर्धा गर्ने, कहाँ सँगै मिलेर जाने ? त्यसको निक्र्यौल गर्नुपर्छ र केन्द्रले एउटा सैद्धान्तिक निर्णय गर्नुपर्छ भन्ने सुझाव र सल्लाह आएको छ’, उनले भनेका छन् ।

सुझाव र सल्लाहको आधारमा मंगलबार तीन बजे केन्द्रीय कार्यसमितिको बैठक बसेर निर्णय गर्ने प्रवक्ता डा.महतले बताएका छन् ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उप–सभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सह–महामन्त्रीहरू फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्वे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियारले पनि धारणा राखेका थिए ।

केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा.शशांक कोइराला, चित्रलेखा यादव, डा.रामशरण महत, अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत, शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, अम्बिका बस्नेत, सुरेन्द्रराज पाण्डे, सुजाता परियार, रमेश लेखक, रामजनम चौधरी, यज्ञराज जोशी, प्रदीपकुमार सुनुवार, मानबहादुर नेपाली, महेन्द्रकुमारी लिम्बू, सरस्वती बजिमय, मञ्जु खाण, सुशीला थिङ र गणेश लामाले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

Published : Monday, 2022 March 28, 7:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया