पलका वकिलहरूले बुँदा–बुँदामा यसरी बहस गरे, वीर्यका बारेमा कुरा बाझिएको दाबी

दमौली । नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ गरेका नायक पूर्णबिक्रम शाह ‘पल’का कानून व्यवसायीहरूले थुनछेकमा बहस गरेका छन् ।

बिहीबार जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासमा बहस भएको थियो । ढुंगानाले अबको केही समयपछि आदेश सुनाउनेछन् । शाह पुर्पक्षमा थुनामा जान्छन् वा धरौटीमा छुट्न आदेशपछि थाहा हुनेछ ।

नायक शाहका कानून व्यवसायीहरूले ग्रान्डडिजाइनका साथ फसाइएको दाबी गरेका छन् । अधिवक्ता कमलामोहन वाग्लेले पल निर्दोष रहेको जिकिर गरेका छन् । ‘केटीले स्वास्थ्य कार्यालयमा दिएको बयान र प्रहरी कार्यालयमा लेखाएको ब्यहोरामा ठूलो भिन्नता छ’, वाग्लेले भने, ‘निवेदकका कुराहरू बाझिएका छन् ।’

शाहका वकिलहरूले समयमा उजुरी नपरेको र पीडित सामाजिक क्षेत्रमा काम गरिरहेको र उमेर पुगेको भन्ने आम जानकारीमा रहेको जिकिर गरेका छन् ।

‘अहिले उनको उमेर नपुगेको जम्मा ३ महिना भनेर आएको छ’, वाग्लेले भने, ‘उनको विद्यालयको प्रमाण पत्र पनि पेश गरिएको छैन । अस्पतालको प्रमाण पत्र पनि छैन । उमेरबारे शंका गर्ने पर्याप्त ठाउँहरू छन् ।’

ती पीडित गायिकाले २०७८ साल वैशाख १४ गते घटना भएको भने पनि यति लामो समय नायक पल शाहसँग विभिन्न किसिमका भिडियोहरूको सुटिङ गरेर घुमिरहेको अवस्था देखिएको कानून व्यवसायीहरूले उल्लेख गरेका छन् ।

मलाई पल शाहले बलात्कार गरेको र कृष्ण जोशीले वातावरण मिलाइदिएको भने पनि घटना हुँदा कृष्ण जोशी काठमाडौंमा भएको वकिलको तर्क छ ।

उनीहरू बसेको घरका साहु–साहुनीले छुट्टा छुट्टै कोठामा लगेर सुताएको बताइसकेकाले पनि बलात्कार नभएको पुष्टि गर्ने उनीहरूको तर्क छ ।

‘उहाँहरूकै टिमको कमल भन्नेले मसँगै पल शाह राति आएर सुतेका हुन् । कतिखेर आएर सुते मलाई थाहा भएन । बिहान थाहा पाउँदा मसँगै सुतिरहेका थिए’ भनेर भनेको पनि कानून व्यवसायीले बहसका क्रममा उठाएका छन् ।

‘पीडित केटीलाई कहीँ कतै घाउ खत लागेको अवस्था छैन । स्वाबहरू कहीँ कतै खसेको अवस्था छैन’, वाग्लेले बहसमा भने, ‘पीडितले प्रहरीमा कागजात गर्दाको अवस्थामा योनीभित्र नै वीर्य झारेको भनेकी छिन् ।’

उनले भने, ‘अस्पतालमा पर्दामा स्खलन गराएको भनेकी छिन् । यसरी फरक–फरक भनाइ आइरहेको अवस्था छ, त्यही भएर पनि घटना नभएको पुष्टि हुन्छ, पल निर्दोष छन् ।’

शाहका वकिलहरूले ‘१४ गते जबर्जस्ती करणी गरिएको भनिएको छ । १५ गते बिहान एउटै गाडीमा ढोरवाराही मन्दिर दर्शनमा गएका छन् । फर्किएर सँगै सुटिङ गरेको अवस्था छ । यस्तो पनि कहीँ हुन्छ ? आफूलाई रातभरि करणी गर्नेसँग भोलिपल्ट बिहानै मन्दिर गइन्छ दर्शन गर्न ? त्यसैसँग गीतहरू सुटिङ गरिन्छ ? यी सबै बनावटी कुरा मात्रै हुन्’ भनेर बहस गरेका छन् ।
पीडितको पक्षमा जिल्ला न्यायाधिवक्ता रामचन्द्र पौडेल, सह–न्यायाधिवक्ता विपिनराज तिवारी, वैतनिक वकिल शिवराज काफ्लेले बहस गरेका छन् ।

पीडितको पक्षबाट निजी कानून व्यवसायीहरू मोहना अन्सारी, राधिका खतिवडा, किशोर सापकोटा, टेकनारायण गौतम, सरिता तिवारी, विरोधप्रसाद लामिछाने, शिवराज काफ्ले बहस गरेका छन् ।

शाहको पक्षबाट १२ जना वकिलले बहस गरेका छन् । वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, कमलामोहन वाग्ले, लव मैनाली, यज्ञ राना, परशुराम गिरीसहित १२ जना वकिल शाहको पक्षबाट बहसमा सहभागी भएका छन् ।

Published : Thursday, 2022 March 24, 6:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया