मन्त्रीहरू फेर्ने सहमति, माओवादीले महत्वपूर्ण मन्त्रालय र धेरै संख्या माग्यो

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान देउवा र दाहालबीच भेटवार्ता भएको हो । माओवादीले महत्वपूर्ण मन्त्रालय र संख्यामा पनि दाबी गरेको छ ।

उनीहरूका बीच मन्त्रिपरिषद हेरफेरका विषयमा कुराकानी भएको छ । दाहालले आफूहरूलाई मन्त्रालयको संख्या बढाइदिन देउवासँग आग्रह गरेका छन् ।

दाहालले आफ्नो हैसियत अनुसार मन्त्रिपरिषदमा थप कोटा पाउनुपर्ने दाबी गरेका छन् ।

मन्त्रिपरिषद् फेरबदलको सम्भावना रहेको र हैसियतअनुसार माओवादीले मन्त्री कोटा पाउनुपर्ने अडान राखेको दाहालले पत्रकारहरूलाई बताएका छन् ।

गठबन्धन बनाउन र यसलाई टिकाउनमा आफ्नो निकै महत्वपूर्ण भूमिका रहेको कारण त्यस भूमिकाअनुसार सरकारमा सहभगिता जनाउनुपर्ने बताएका छन् ।

आफूले प्रधानमन्त्रीलाई थप मन्त्री कोटाको माग राखिसकेको माओवादी अध्यक्ष दाहालको भनाइ छ ।

लोसपाका नेता र प्रधानमन्त्रीबीच भएको छलफल बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई जानकारी दिएको तर सरकारमा सहभागिता वा गठबन्धनमा नै सहभागिता गराउने विषयमा छलफल नभएको दाहालले बताएका छन् ।

दाहालले कांग्रेसका नेताहरू माओवादीप्रति आक्रमक बनिरहेको भन्दै असन्तुष्टि जनाएका छन् ।

मंगलबार जनकपुरमा पत्रकारसँग कुरा गर्ने क्रममा माओवादीका अध्यक्ष दाहालले कांग्रेस नेताहरूको व्यवहारका कारण चुनावमा गठबन्धन नहुने सम्भावना बढेको बताएका छन् ।

कांग्रेसका नेता शेखर कोइराला समूहले माओवादी र नेकपा (एकीकृत समाजवादी)सँग गठबन्धन गर्न नहुने भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै आएको छ ।

Published : Tuesday, 2022 March 22, 1:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया