स्थानीय चुनावको टिकटबारे डा.महतको कुराले देशभरिका कांग्रेस कार्यकर्तालाई चित्त बुझ्यो

सल्यान । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठ्ने उम्मेदवारहरूको टुंगो चैत महिनाभित्रै लगाइसक्ने बताएका छन् ।

आइतबार बिहान नेपाल प्रेस युनियनले सल्यानमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा.महतले विधानले नै पार्टीका तर्फबाट विभिन्न तहका निर्वाचनमा उठाइने उम्मेदवारहरूको टुंगो लगाउन केन्द्र, प्रदेश, जिल्ला र पालिका तहमा संसदीय समितिको व्यवस्था गरेको बताए ।

‘यसपटक विगतमा भए जस्तो उम्मेदवारी दिने अन्तिमदिनसम्म को उठ्ने हो ? भन्ने टुंगो नलाग्ने स्थिति रहनेछैन्’, प्रवक्ता डा.महतले भने, ‘निर्णय गर्ने प्रकृया पनि विभिन्न तहमा विकेन्द्रित छ ।’

उनले पार्टीका तल्लो तहका समितिले टुंग्याउन नसकेका विवाद भए केन्द्रले हेर्न सक्ने बताए ।

‘जुन तहको उम्मेदवारी हो, त्यहीँ टुंगियोस् । सर्वसम्मत भएर टुंगियोस् भन्ने केन्द्रको चाहना छ’, उनले भनेका छन् ।

‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानलाई बढीभन्दा बढी जनतालाई पार्टीसँग जोड्न प्रवक्ता डा.महतले आग्रह गरेका छन् ।

उनले निर्वाचनमा सकेसम्म धेरैभन्दा धेरै पदमा जित्ने लक्ष्य हुने भएकाले जो उठाउँदा बढी मत आउँछ त्यसैलाई प्राथमिकता दिएर उम्मेदवारी तय गर्न उपयुक्त हुने बताएका छन् ।

‘माथिल्लो तहको चुनावमा सबैले सबैलाई चिनेको हुँदैन त्यसैले पार्टीगत आधारमा मतदान हुन्छ’, उनले भने, ‘स्थानीय तहको निर्वाचनमा सबले सबैलाई चिनेको हुन्छ ।’

उनले भने, ‘उसको आनीबानी, व्यहार, व्यक्तित्व, कार्य क्षमता, योग्यता सबैले जान्ने भएकोले जो उठाउँदा चुनाव जितिन्छ, त्यसलाई उठाउन उचित हुन्छ ।’

प्रवक्ता डा.महतको यो भनाइले पार्टीका असल, योगदान गरेका, लोकप्रिय र राम्रा नेताहरू खुसी भएका छन् । चाकडी गरे टिकट हत्याउने समूहलाई डा.महतको भनाइले तनाब दिएको छ ।

उनले कांग्रेसको अभियानमा विपक्षीहरूद्वारा स्थानीय तथा राष्ट्रियस्तरमा उठाइएका भ्रम तथा अफवाहलाई पनि चिरिने बताएका छन् ।

प्रवक्ता डा.महतले स्थानीय निर्वाचनमा स्थानीय आवश्यकताका आधारमा गठबन्धन हुने वा नहुनेबारेमा कांग्रेसको चैत ११ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकले सिद्धान्त तय गर्न सक्ने बताए ।

Published : Sunday, 2022 March 20, 4:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया