स्थानीय निर्वाचनमा गठबन्धन हुन सक्ने कांग्रेस प्रवक्ता डा.महतको संकेत
नेपालगञ्ज । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले स्थानीय निर्वाचनमा गठबन्धनको सम्भावनालाई नकार्न नसकिने बताएका छन् ।
शनिवार नेपालगञ्जमा सम्वाददाताहरूसँग कुरा गर्दै डा.महतले भने, ‘गठबन्धनको संभावनलाई नर्कान सकिदैन ।’
‘यस विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल हुन्छ’, उनले भने, ‘गठबन्धन गर्दा बढी सिट जितिन्छ भन्नेमा सहमति बन्यो र इच्छुक दलहरूको उपयुक्त प्रस्ताव आयो भने गठबन्धन हुन्छ ।’
प्रवक्ता डा.महतले भने, ‘प्रस्ताव कस्तो आउँछ त्यसमा भरपर्छ । विनविन पोजिसनमा हुन सक्छ ।’
उनले हरेक पार्टीको लक्ष्य निर्वाचनमा सकेसम्म बढी सिट जित्ने भएकोले गठबन्धन गर्दा धेरै सिट जित्ने देखियो भने गठबन्धन हुने र त्यसको मोडेल केन्द्रले निर्धारण गर्ने बताए ।
उनले कांग्रेसका कार्यकर्ताहरू अहिले गठबन्धन गर्न हुन्छ वा हुँदैन भन्ने बहसमा नअल्झन आग्रह गरेका छन् ।
कांग्रेसले शुरु गरेको ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ भन्ने अभियानमा बढीभन्दा बढी जनतालाई पार्टींसंग जोड्न उनले आग्रह गरेका छन् ।
कांग्रेसका नेता कार्यकर्ताले आफ्नो पार्टीका प्रतिनिधिहरूले गरेका काम, तीन तहका सरकारले गरेको कामका बारेमा नागरिककालाई जानकारी गराउनुपर्ने बताएका डा.महतले नागरिकका गुनासा सुनेर पार्टीका विभिन्न निकायमार्फत तिनको समाधान गर्ने पद्धति बसाउने बताए ।
उनले भने, ‘स्थानीय निर्वाचन जितेपछि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसलाई कसैले हराउन सक्ने छैन ।’
उनले चुनाव जित्ने प्रयास नगर्ने पार्टीहरू क्लबमा परिणत हुने उल्लेख गरेका छन् । ‘राजनीतिक दलहरू निर्माण भएकै निर्वाचन जित्नलाई हो’, उनले भने, ‘निर्वाचन जितेर, सत्तामा पुगेर पार्टीको नीति कार्यक्रम लागू गर्ने हो ।’
‘स्रोत साधन देश र जनताको हितमा सदुपयोग गर्ने तथा जनतालाई सुख र समृद्धि दिने हाम्रो लक्ष्य हो’, उनले भनेका छन् ।
उनले स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठाइने उम्मेदवारहरूको टुंगो चैत महिनाभित्र लाग्ने बताएका छन् ।
कांग्रेसका प्रवक्ता डा.महतले एमसीसीबाट नेपालको सडक विस्तार र विद्युत प्रसारण लाईन निर्माणका लागि प्राप्त ५० करोड अमेरिकी डलरको अनुदान सहयोग कांग्रेसको पहलमा संसदबाट अनुमोदन भएको बताए ।
संसदमा रहेका सबै दलहरू सरकारमा बस्दा एमसीसी अगाडि बढाउन सहमति दिएको बताएका डा.महतले कांग्रेसले कुनै दलले विपक्षमा नहुने विश्वासमा लामो समयसम्म यसका बारेमा मुख नखोलेको उल्लेख गरेका छन् ।
‘जब नेपाली कांग्रेसले सत्य बोल्न थाल्यो । एमसीसीका बारेमा कम्युनिष्टहरूले सिर्जना गरेको झूठको पर्दा गिर्न थाल्यो’, उनले भने, ‘आफू सत्तामा बस्दा ठीक हुन्छ भनेर सहमति गरेको छ । अगाडि बढाएको छ । पारित गर्ने बेलामा सडकमा उफ्रिएको छ ।’
प्रवक्ता डा.महत सल्यान कांग्रेसको कार्यक्रममा भाग लिन नेपालगञ्ज हुँदै त्यसतर्फ लागेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया