सिन्धुपाल्चोक कांग्रेसमा संस्थापनका दुई सभापति, संस्थापनको आधिकारिक जंगबहादुर

काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकमा संस्थापन समूहबाट सभातिमा दुई जनाले उम्मेदवारी दिएका छन् ।

शुक्रबार शेरबहादुर देउवाको समूहबाट जंगबहादुर तामाङ र प्रेमध्वज लामाले सभापतिमा उम्मेदवारी दर्ता गराएपछि खैलाबैला भएको छ ।

सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको समर्थन जंगबहादुरलाई छ ।

उप–प्रध्यापक हुँदाहुँदै कांग्रेसको क्षेत्रीय प्रतिनिधि बनेका प्रेमध्वज लामालाई उप–सभापति पूर्णबहादुर खड्काले समर्थन गरेका छन् । सभापतिमा उम्मेदवारी दिन प्रेमध्वजले राजीनामा दिए पनि उनको क्षेत्रीय प्रतिनिधि धरापमा छ ।

प्रेमध्वज लामाविरुद्ध सरकारी कर्मचारी भएकै अवस्थामा कांग्रेसको क्षेत्रीय प्रतिनिधि बनेको भनेर मुद्धा परेको छ । प्रेमध्वजले २५ गते आफूविरुद्ध परेको मुद्धाको प्रतिउत्तर समेत दिएका छन् ।

प्रेमध्वजको क्षेत्रीय प्रतिनिधि पद नै खारेज हुने अवस्थामा रहेका बेला संस्थापनबाट सभापतिमा उम्मेदवारी दिएर शेखर कोइराला समूहलाई अप्रत्यक्ष रुपमा सहयोग गरेको आरोप छ ।

सभापतिमा शेखर कोइराला समूहले वंशलाल तामाङलाई उम्मेदवार बनाएको छ । प्रेमध्वजले देउवा समूहमा बागी उम्मेदवारी दिएको भनेर आलोचना भएको छ ।

सिन्धुपाल्चोक कांग्रेसमा संस्थापन समूह बलियो छ । त्यसमा पनि केन्द्रीय सदस्य बस्नेतको टिम सशक्त रुपमा अग्रपंक्तिमा छ ।

Published : Friday, 2022 March 11, 6:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया