चुनावमा गठबन्धन होला ? देउवासँग के भन्छन् दाहाल–नेपाल ?
काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले आफूलाई चुनावमा केन्द्रित गर्न थालेको छ ।
बिहीबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा निर्वाचनका विषयमा छलफल भएको हो ।
एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्नेबारे मतभेद हुँदा विभाजनको किनारमा पुगेर गठबन्धन जोडिएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा आबद्व दलहरूलाई आगामी निर्वाचन र त्यसपछिसम्म पनि गठबन्धनको आवश्यकता देखिएको भन्दै त्यसका लागि छलफल गर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभाबाट एमसीसी अनुमोदनपछि बिहीबार बसेको गठबन्धनको बैठकमा नेताहरूबीच गठबन्धनलाई आगामी दिनमा कसरी अघि बढाउने भन्नेबारे छलफल भएको छ ।
प्रधानमन्त्री देउवाले गठबन्धनका नेताहरूलाई त्यसबारे आ–आफ्नो दलमा छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने भनेका छन् ।
सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने मिति तोकिसकेको छ । एक वर्षभित्रै संघ र प्रदेशको समेत निर्वाचन गर्नुपर्नेछ ।
सत्ता गठबन्धनलाई चुनावी गठबन्धनमा परिणत गर्ने वा नगर्ने भन्नेबारे ती दलभित्रै फरक–फरक मत छन् ।
गठबन्धनको नेतृत्वमा रहेको कांग्रेस चुनावमा गठबन्धन नगर्दा विगतमा जस्तै कम्युनिष्ट दलहरू एकताबद्ध हुनसक्ने त्रासमा छ ।
प्रधानमन्त्री देउवासहित शीर्ष नेताहरूले गठबन्धन अहिलेको आवश्यकता रहेकोमा जोड दिँदै आएका छन् ।
प्रधानमन्त्री देउवासमक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनका बैठकमै चुनावी तालमेललाई सर्तको रुपमै अघि सार्ने गरेका छन् ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे निर्णायक छलफल नभएको बताए ।
‘अहिले नै यस्तै हुन्छ भनेर भन्न त सकिएन, किनकि यसबारे त्यसरी छलफल नै भएको छैन’, पौडेलले भनेका छन् ।
‘हामी सबै दलहरू गठबन्धनलाई बचाएर जानुपर्छ भन्नेमै छौँ, तर निर्क्योल भइसकेको छैन’, उनले भने ।
बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अहिले गठबन्धनको आवश्यकता भएपनि चुनावी तालमेलबारे आ–आफ्नो दलभित्र छलफलपछि मात्रै निष्कर्षमा पुग्ने बताएका छन् ।
बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूको उपस्थिति थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया