अमेरिकाले बल्ल देउवाको कुटनैतिक तागत बुझ्यो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले टेलिफोनमा कुराकानी गरेका छन् ।

मंगलबार राति प्रधानमन्त्री देउवासँग एन्टोनीले फोनमा कुराकानी गरेका हुन् । कुराकानीका क्रममा युक्रेनमाथि रुसको आक्रमणलाई सँगै विरोध गर्नुको साथै आर्थिक विकास र क्षेत्रीय चुनौतीहरूमा मिलेर अघि बढ्ने प्रतिबद्धता गरिएको छ ।

एन्टोनीले रुसको अप्रत्याशित आक्रमण र युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताप्रतिको अमेरिकाको समर्थनबारे नेपालका प्रधानमन्त्री देउवासँग कुराकानी भएको आफ्नो ट्विटरमा उल्लेख गरेका छन् ।

मन्त्री एन्टोनीले प्रधानमन्त्री देउवासँग आर्थिक विकास र क्षेत्रीय चुनौतीहरूमा सँगै मिलेर काम गर्न जारी राख्ने विषयमा छलफल भएको पनि प्रस्ट पारेका छन् ।

एमसीसी संसदबाट पारित भएको दुई दिनपछि अमेरिकी विदेश मन्त्री एन्टोनीले प्रधानमन्त्री देउवासँग परामर्श गरेका छन् ।

अमेरिकाले एमसीसीमार्फत नेपालको ऊर्जा र सडक पूर्वाधारका लागि आएको ५०० मिलियन अमेरिकी डलर दिन लागेको छ ।

नेपाल सरकारले फागुन १२ मै युक्रेनमाथि रुसी आक्रमणको आफ्नो स्पष्ट धारणा ल्याइसकेको छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालले युक्रेनमाथि रुसले गरेको सैन्य कारबाहीको विरोध गरेको थियो ।

रुसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेपछि विज्ञप्ति जारी गर्दै कुनै पनि अवस्थामा एउटा सर्वभौम राष्ट्रविरुद्ध गरिने शक्ति प्रयोगको विपक्षमा नेपाल रहने जनाएको थियो ।

‘नेपाल कुनै पनि सार्वभौम देशको विरुद्ध कुनै पनि परिस्थितिमा गरिने शक्ति प्रयोगविरुद्धमा छ र कूटनीति र संवादको माध्यमबाट विवादको शान्तिपूर्ण समाधानमा विश्वास गर्दछ,’ विज्ञप्तिमा भनिएको थियो ।

नेपाल सरकार संयुक्त राष्ट्र संघको महासन्धिविपरीत युक्रेनको दोनेत्स्क र लुहाँस्क क्षेत्रलाई रुसले स्वतन्त्र राज्यको मान्यता दिएको बताएको थियो । नेपालले बुधबार संयुक्त राष्ट्र संघमा रुसविरुद्ध भोट हालेको थियो ।

संयुक्त राष्ट्र संघका लागि न्यूर्योकस्थित नेपालका नियोग प्रमुख अमृतकुमार राईले पनि युक्रेनमाथि रुसको आक्रमणलाई लिएर नेपालको धारणा राख्दै त्यसको विरोध गरेका छन् ।

महासभाको आपत्कालीन सत्रलाई सम्धोन गर्दै राईले वार्तामार्फत नै दीर्घकालीन राजनीतिक समाधान खोज्न रुस र युक्रेनलाई आग्रह गरेका छन् ।

Published : Wednesday, 2022 March 2, 12:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया