सिन्धुली कांग्रेसमा बरालको शासन ढल्यो, सभापतिमा पोखरेल निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस सिन्धुलीको जिल्ला सभापतिमा उपेन्द्र पोखरेल निर्वाचित भएका छन् ।

पोखरेलले उज्ज्वल बराललाई सभापतिमा पराजित गरेका हुन् ।

सभापतिमा विजयी भएका पोखरेलले सभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहका सभापतिका उम्मेदवारलाई हराइदिएका छन् । पोखरेलको गुट खुलेको छैन ।

पोखरेलले ८८५ तथा बरालले ४७७ मत प्राप्त गरेको निर्वाचन अधिकृत लेखतबहादुर खड्काले जानकारी दिएका छन् ।

आइतबार भएको अधिवेशनमा जिल्ला सभापतिका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका थिए । मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त प्राप्त गर्न नसकेपछि सोमबार पुनः मतदान गरिएको थियो ।

पुनः मतदान गरिँदा एक हजार ३७१ मत खसेको थियो । नौ मत भने बदर भएको थियो ।

यसअघि सभापति पदका लागि आइतबार भएको मतदानमा पोखरेलले ४८३, बरालले ४२७, प्रेमचन्द्र दाहालले ३६१, खड्गबहादुर वाइवाले १०१ र विश्वनाथ कोइरालाले १६ मत प्राप्त गरेका थिए ।

सिन्धुली कांग्रेसको दुई कार्यकाल सभापति बनेका बरालले कांग्रेसलाई जिल्लामा गुटका कारण कमजोर बनाएको आरोप छ ।

सधैँ काठमाडौंमा बस्ने र सिन्धुलीमा कांग्रेसको संगठन निर्माणमा ध्यान नदिएकै कारण सभापतिमा बराल पराजित भएको चर्चा छ ।

Published : Tuesday, 2022 March 1, 11:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया