देउवाको कुरा ओलीलाई चित्त बुझेपछि लल्याक–लुलुक भयो एमाले, देउवाले गगनलाई साथमा राखे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई पारित गराउन प्रमुख विपक्षी दल एमालेसँग परामर्श गरेका छन् ।

बिहीबार नयाँ बानेश्वरमा देउवाले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसहितका नेताहरूसँग कुराकानी गरेका हुन् । वार्तामा नेपाली कांग्रेसका नेताहरूको पनि उपस्थिति रहेको थियो ।

सत्ता गठबन्धनका दलहरू माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेपछि बाध्य भएर देउवाले एमालेसँग निकटता बनाएका हुन् ।

देउवाले एमसीसीलाई अनुमोदनका लागि सहयोग गर्न एमालेका अध्यक्ष ओलीसँग आग्रह गरेका छन् । ओलीले पनि देउवालाई सकारात्मक संकेत दिएका छन् ।

देउवा र ओलीबीच बानेश्वरमा भएको वार्ता सकारात्मक भएपछि आजै साँझ दुई शीर्ष नेताबीच बालुवाटारमा वार्ता हुनेछ ।

स्रोतका अनुसार कांग्रेसको नेतृत्वमा केन्द्रीय सरकार बनाउने र एमालेलाई सरकारमा स्थान दिने विषयमा कुराकानी हुनेछ ।

सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाउने विषयमा पनि कुराकानी भएको बुझिएको छ ।

देउवाले यसअघि, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि वार्ता गरेका थिए । दाहालले एमसीसीमा सहयोग गर्न नसकिने बरु सरकार छाड्ने सन्देश सुनाएपछि बाध्य भएर देउवाले ओलीसँग हात मिलाउन पुगेका हुन् ।

देउवासँग कुरा गर्नु अगाडि दाहालले नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपालका नेताहरूसँग वार्ता गरेका थिए ।

देउवा–ओलीबीच भएको वार्तामा कांग्रेसका नेताहरू ज्ञानेन्द्रबहादुर कार्की, गगनकुमार थापा, एमालेबाट सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेललगायतका नेताहरूको पनि उपस्थिति थियो ।

Published : Thursday, 2022 February 24, 5:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया