निकम्मा बन्यो महासंघ, देउवासँग धुन्धुकारी मन्त्री–सचिवविरुद्ध कुरा हुने, अन्यथा आन्दोलन

काठमाडौं । कोरोना महामारीका कारण तीन वर्षदेखि धरासायी बनेको पर्यटन, उद्योग, व्यवसायहरूमा केही सुधारका संकेत देखिन थालेको समयमा एकजना सन्की मन्त्रीले भौतिक संरचना भत्काउनेदेखि होटेल बन्द गर्ने जस्ता हर्कत गरे पनि नेपाल उद्योग वाणिज्य महासंघ निकम्मा बनेर मौन बसेको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहितका पदाधिकारीहरू चुपचाप छन् । समस्यामा परेका व्यवसायीहरूको हकहितमा बोल्नुपर्नेमा महासंघ डराएर दर्शक बनेर बसेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले एमालेसँगको राजनीतिक प्रतिशोध साँधेर गुण्डाशैलीमा उद्योगी, व्यवसायीहरूका भौतिक संरचना भत्काउनेदेखि पाँचतारे होटेल बन्द गर्नेसम्मका हर्कत गरेका छन् ।

एमाले नेतृत्वको सरकारका पालामा सम्झौता गरेको भन्दै मन्त्री आलेले बतास समूहसँग रिस फेरेका छन् । उनले एमालेका अध्यक्ष खड्गप्रसाद ओली र योगेश भट्टराईसँगको इगो बतास समूहमाथि खन्याएका छन् ।

बतास समूहले गल्ती गरेको छ भने कारबाही गर्ने निकाय छ । बतास समूहले कानूनअनुसा सम्झौता गरेर काम गरेका बेला मन्त्री आलेले गुण्डाशैलीमा दरबारसंग्राहलयमा बनाएको भौतिक संरचना भत्काएर ठूलो नोक्सानी गरिदिएका छन् ।

आलेले धर्मशालाको सम्झौता रद्द गर्न आदेश दिएर करोडौंको लगानी नोक्सानी गरिदिएका छन् ।

याक एण्ड यती होटेलमा पर्यटकहरू बसेका बेला आलेले होटेलमा बन्द गराएर ठूलो क्षति पुर्‍याएका छन् । सबैभन्दा धेरै विदेशी मुद्रा भित्र्याएको भनेर सरकारले नै याक एण्ड यती होटेललाई पुरस्कृत गरेको थियो । त्यही होटललाई मन्त्री आलेले एमालेसँगको इगो देखाएर बन्द गरेका छन् । आलेले ड्रिम ल्याण्डलाई समेत बन्द गरिदिएका छन् ।

मन्त्री आले र सचिव महेश्वर न्यौपानेका हर्कतले सीमा नाघेका बेला उद्योगी, व्यवसायीका विषयमा आवाज उठाउने महासंघ सुतेर बसेको छ ।

मन्त्री र सचिवका कारण अर्बौंको लगानी डुब्ने अवस्थामा पुगेको छ । व्यवसायीहरूको मानमर्दन भएको छ । बद्नाम भएको छ ।
तैपनि महासंघ कानमा तेल हालेर बसेको छ । केही दिन अगाडि बतास समूहका पक्षमा झाराटार्ने गरेर महासंघले विज्ञप्ति जारी गरेको थियो ।

त्यसपछि अध्यक्ष गोल्छा र वरिष्ठ उपाध्यक्ष ढकाल चुपचाप छन् ।गोल्छा र ढकाल मन्त्री आले र सचिव न्यौपानेसँग डराएर बसेका छन् । व्यवसायीहरूलाई तनाब दिँदा पनि बोल्न सकेका छैनन् ।

सरकार र त्यसका मातहतसँग विश्वास गरेर व्यवसायीहरूले सम्झौता गरेर व्यवसाय गर्ने हो । अर्को सरकार आउनेवित्तिकै अघिल्लो सरकारका सम्झौता र सहमति रद्द गर्ने हो भने कसरी मुलुकको अर्थतन्त्र सुध्रिन्छ ? भन्ने प्रश्न उठेको छ ।

मन्त्री आले र सचिव न्यौपानेले कारबाही गर्नुछ भने कानूनअनुसार सम्बन्धित निकायलाई निर्देशन दिनुपर्छ । आफैले कानून हातमा लिएर भौतिक संरचना भत्काउने, होटेल बन्द गर्ने कार्य प्रजातान्त्रिक मुलुकमा सुहाउँदैन ।

आज बतास समूह र याक एण्ड यती समूहमाथि आलेले राजनीतिक प्रतिशोध साँधेर आक्रमण गरेका छन् । भोलि अरु व्यवसायीहरूलाई पनि आले र न्यौपानेद्वारा कानून विपरीत आक्रमण हुँदैन भनेर भन्न सकिँदैन । महासंघले समयमा व्यवसायीहरूका विषयमा बोल्नुपर्छ । होइन भने निकम्मा महासंघ खारेज गर्दा राम्रो हुन्छ ।

महासंघका अध्यक्ष गोल्छा छोराको विवाह गर्न दुबईमा छन् । उनका छोराको बिहे खान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसा ढकाल पनि उतै गएका छन् ।

यता, महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले व्यवसायीहरूमाथि मन्त्री आलेबाट भएको हर्कतको विरोध गरेका छन् । श्रेष्ठले भने, ‘लोकतान्त्रिक मुलुकमा व्यवसायीहरूलाई मन्त्रीको आतंकभित्र बस्नु परेको छ । व्यवसायीहरूको गल्ती छ भने कारबाही गर्नुपर्छ । होइन भने मन्त्रीले अघिल्लो सरकारको कुरामा राजनीतिक प्रतिाशोध साँधेर बतास समूहको भौतिक संरचना भत्काउनेदेखि याक एण्ड यती होटेल बन्द गर्ने कार्य संविधान र कानून विपरीत छ ।’

उपाध्यक्ष श्रेष्ठले यस विषयमा कानूनी सल्लाहकारसँग परामर्श गरिरहेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्री आले र सचिव न्यौपानेको आतंकका विषयमा जानकारी गराउन समयमा माग गरिएको बताए ।

उनले प्रधानमन्त्री देउवाबाट मन्त्री आले र सचिव न्यौपानेको हर्कतका विषयमा यथोचित सम्बोधन भएन भने आफूहरू आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।

Published : Friday, 2022 February 11, 10:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया