आइसोलेसनमा प्रधानमन्त्री देउवा र सञ्चारमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् ।

कन्ट्याक्ट ट्रेसिङमा परेपछि देउवा बालुवाटारमै आइसोलेसनमा बसेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूमा संक्रमण पुष्टि भएपछि देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।

प्रधानमन्त्री देउवा शनिबारदेखि आइसोलेसनमा बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । देउवाले सबै किसिमका भेटघाट बन्द गरेको जनाइएको छ ।

प्रधानमन्त्री देउवा आइसोलेसनमा बसे पनि कोरोनासँग मिल्दाजुल्दा कुनै पनि लक्षण देखिएको छैन । चिकित्सकहरूको सल्लाहमा देउवा आइसोलेसनमा बसेका छन् ।

शुक्रबार सत्ता गठबन्धन दलका शीर्ष नेताहरूसहित उच्चस्तरीय समन्वय समितिको बैठकमा प्रधानमन्त्री देउवा सहभागी थिए ।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेर फर्किएलगत्तै प्रचण्ड संक्रमित भएको खबर पाएपछि देउवा आइसोलेसनमा बसेका हुन् ।

त्यसैगरी, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि आइसोलेसनमा बसेका छन् ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्की सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकमा सहभागी हुँदै आएका थिए ।

शुक्रबार मात्रै बसेको सत्तारुढ दलका शीर्ष नेताहरू संलग्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा मन्त्री कार्की सहभागी थिए ।

मन्त्री कार्कीले शनिबारदेखि नै भेटघाट बन्द गरेका छन् । आइतबार कोरोना परीक्षण गराउने मन्त्री कार्कीको सचिवालयले जनाएको छ ।

Published : Sunday, 2022 January 9, 12:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया