डराएनन् कांग्रेस नेता विनोद चौधरी, यसरी बुझाए कानूनी कुरा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू पार्टीको विधान र विधिवत रूपमा सम्पूर्ण प्रक्रिया पूरा गरेर पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित भएको बताएका छन् ।

बिहीबार केन्द्रीय सदस्य चौधरीले प्रेस नोट जारी गरेर केन्द्रीय सदस्यमा निर्वाचित भएको विषयमा आएका समाचार र टिकाटिप्पणीप्रति सफाइ दिएका छन् ।

महाधिवेशनमा विधिसम्मत प्रक्रियाहरूमार्फत् नेतृत्व छनौटका लागि भएको निर्वाचनमा आफै सहभागी हुने र निर्वाचन हारेपछि विधिसम्मत थिएन भनेर प्रश्न उठाउनु अलोकतान्त्रिक र अराजनीतिक चरित्र भएको उनले बताएका छन् ।

केन्द्रीय सदस्य चौधरीले भनेका छन्, ‘महाधिवेशनमा निर्वाचन समितिले उम्मेदवारी दर्तापछि विधिवत रूपमा दावी विरोधको समय उपलब्ध गराएको थियो ।’

‘यदि म अयोग्य थिएँ भन्ने कुरा कसैलाई लागेको थियो भने त्यो समयमा किन दावी विरोध गरिएन ?’ केन्द्रीय सदस्य चौधरीले प्रश्न गर्दै भनेका छन्, ‘आफै सोही निर्वाचनमा उम्मेदवार हुने र विजय हुन नसकेपछि विधिसम्मत भएन भनेर रोइलो गर्नुको कुनै अर्थ छैन ।’

उनले भनेका छन्, ‘नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा यस्तो व्यवहार अपेक्षित मानिदैंन ।’

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको निर्वाचनमा चौधरी केन्द्रीय सदस्य खुलातर्फ मधेशीमा दोस्रो स्थानमा लोकप्रिय मतसहित निर्वाचित भएका थिए ।

केन्द्रीय सदस्य अजय चौरसियापछि चौधरीले २२०६ प्राप्त गरि विजय भएका थिए ।

सोही पदमा सिरहाका सुभाषचन्द्र यादवले पनि प्रतिस्पर्धा गरेका थिए । यादव पराजित भएका थिए ।

निर्वाचनमा पराजय भएको तीन सातापछि यादवले विधानमाथि प्रश्न उठाएका छन् । चौधरीविरुद्ध उजुरी दिनु थियो भने मनोनयन दर्ता गरेकै बेला कांग्रेसको केन्द्रीय निर्वाचन समितिले दिएको समयभित्र उजुरी गर्नुपर्नेमा यादवले त्यसो गरेनन् । अहिले आएर कसैको उक्साहटमा लागेर यादवले मिडियाबाजीमा लागेको आरोप छ ।

यस्तो व्यवहारलाई कांग्रेसका नेता र कार्यकर्ताले समेत रूचाएका छैनन् ।

‘यसलाई मैले मेरो राजनीतिक सक्रियताबाट आत्तिएकाहरूको मनोदशाका रूमा लिएका छुँ’, केन्द्रीय सदस्य चौधरीले भनेका छन्, ‘मेरो सपना समृद्ध नेपाल निर्माण गर्ने हो ।’

‘यस अभियानमा नेपाली कांग्रेसको नेतृत्वलाई हदैसम्मको साथ दिन म राजनीतिमा आएको हुँ’, चौधरीले भनेका छन्, ‘म नेपाली कांग्रेसका होनहार कार्यकर्ताहरूबाट अनुमोदन भएर केन्द्रीय सदस्य पदमा निर्वाचित भएको हुँ ।’

उनले भनेका छन्, ‘निर्वाचित हुने हक हरेक उम्मेदवारलाई थियो । निर्वाचनमा पराजय भएपछि निर्वाचितहरूलाई लाञ्छित गर्नु भनेको आम कार्यकर्ताहरूको अपमान पनि हो ।’

प्रतिनिधि सभाका सांसद समेत रहेका नेता चौधरी नवलपुर जिल्लाबाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि भएका थिए ।

कांग्रेसमा ‘गरिखाने अभियान’ सञ्चालन गरेका नेता चौधरीकै कारण धेरै कार्यकर्ताले बैंकबाट ऋण लिएर स्वरोजगार बनेका छन् ।

Published : Thursday, 2022 January 6, 1:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया