कांग्रेसलाई जाँच्ने आन्तरिक महाधिवेशन होइन, आम निर्वाचिन हो : खाण

जवलाखेल । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले सरकार निष्पक्ष, भयरहित, धाँधलीरहित र शान्तिपूर्ण तरिकाले तीन तहको निर्वाचन गराउन सक्षम रहेको बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले शनिबार आयोजना गरेको शुभकामना सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाणले सरकार चुनाव गराउन तयारी अवस्थामा रहेको बताए ।

उनले संविधानअनुसार पाँच वर्षभित्र स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने प्रावधानअनुसार निर्वाचन गराउन तयार रहेको बताए ।

‘निर्वाचन गराउन यो सरकारको राष्ट्रिय कर्तव्य हो’, मन्त्री खाणले भने, ‘स्थानीय तह निर्वाचन नजिक रहेको अवस्थामा कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्छ ।’

‘कांग्रेस बलियो छ वा छैन भनेर परीक्षण गर्ने कांग्रेसको आन्तरिक महाधिवेशनले होइन । आम निर्वाचनले हो’, खाणले भने, ‘विगतमा कांग्रेसले निर्वाचन हार्दा कांग्रेस मात्रै कमजोर भएन । मुलुक कमजोर हुन पुग्यो ।’

कांग्रेस कमजोर हुँदा तत्कालीन सत्तासीनहरूले लोकतन्त्र र संविधानको धज्जी उडाउने काम गरेको खाणले बताएका छन् ।

उनले कला–संस्कृति, पुरातत्विक परम्परा, नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता रक्षाका लागि कांग्रेस नेतृत्व अपरिहार्य रहेको बताएका छन् ।

गृहमन्त्री खाणले कार्यक्रममा केन्द्रीय सदस्यहरू मदनबहादुर अमात्य, उदयशम्शेर राणा, जितजंग बस्नेत र उर्मिला केसी नेपाललाई बधाई दिँदै सम्मान गरेका थिए ।

कांग्रेसको बागमती प्रदेशमा निर्वाचित उप–सभापति चन्द्र महर्जन, सह–महामन्त्री ऋषिराम घिमिरे, सदस्यहरू राजिवराज पौडेल, प्रवीणा शर्मा, माहान अर्याल, तारादेवी दुलाल पन्त, लक्ष्मी महर्जन र मोहमद मुकिमलाई समेत सम्मान गरिएको छ ।

Published : Saturday, 2022 January 1, 7:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया