देउवाले पार्टीभित्र देखाए ठूलो छाती, पौडेलसहित १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेलसहित १० जना नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा शनिबार जारी विज्ञप्तिअनुसार देउवाले नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।

केन्द्रीय सदस्यमा मनोनीत हुनेमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला रहेका छन् ।

त्यसैगरी, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मा रहेका छन् ।

सभापति देउवाले उनीहरूलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम मनोनीत गरेका हुन् ।

नेता रामचन्द्र पौडेलले १४औँ महाधिवेशनमा निर्वाचन प्रक्रियामा भाग लिएका थिएनन् ।

विजयकुमार गच्छदार दुई भोटले उप–सभापतिमा पराजित भएका थिए ।

प्रकाशमान सिंह र विमलेन्द्र निधि सभापतिमा उम्मेदवार बनेर पराजित भएका थिए ।

डा.प्रकाशशरण महत महामन्त्रीमा पराजित भएका थिए । सुजाता कोइराला उप–सभापतिमा पराजित भएकी थिइन् ।

कृष्णप्रसाद सिटौला, डा.नारायण खड्का, उमा रेग्मी र मीनबहादुर विश्वकर्माले महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी दिएका थिएनन् ।

Published : Saturday, 2022 January 1, 5:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया