एसएसपी सिंहको काण्ड देखेर गृह मन्त्रालय र हेडक्वाटर चकित, प्रहरीको बदनाम गरे
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रहरी प्रमुख एसएसपी अशोक सिंह ‘जुवाको चेक काण्ड’मा परेका छन् ।
एसएसपी सिंहको हर्कतविरुद्ध कारबाहीको माग गरेर गृह मन्त्रालयमा लिखित उजुरी परेपछि गृह मन्त्रालयले प्रहरी हेडक्वाटरलाई अनुसन्धान गर्न आदेश दिएको थियो ।
अपराध अनुसन्धान विभागका डीआईजी राजेशकुमार लाल कर्णको नेतृत्वमा छानविन समिति गठन भएको छ । समितिका सदस्यहरूमा एसपी आभूषण तिमिल्सिना र डीएसपी सन्तोष तामाङ सदस्य छन् ।
प्रहरी मुख्यालयका प्रवक्ता एसएसपी बसन्त कुँवरले सिंहका विषयमा छानविनको मागसहित निवेदन परेकाले प्रहरी हेडक्वाटरले आफ्नो तरिकाले अनुसन्धान अगाडि बढाएको जानकारी दिए ।
प्रवक्ता कुँवरले भने, ‘काठमाडौं प्रहरीका तत्कालीन प्रमुख एसएसपी अशोक सिंहविरुद्ध उजुरी परेपछि हेडक्वाटरले आफ्नो तरिकाले अनुसन्धान अगाडि बढाएको छ । दोषी पाइएमा कारबाही हुन्छ ।’
असोज २५ गते काठमाडौं प्रहरीले सुभाष भेटवालबाट बैंक अफ काठमाडौंको २ करोड २९ लाखको चेक बरामद गरेको थियो । चेक जुवा खालमा काटेको र जुवा खेलेको सिसिटिभी फुटेजमा देखिएको छ ।
एसएसपी सिंहले मुद्दा चलाउन अस्वीकार गरेर चेक फिर्ता गरेको आरोप छ ।
असोज २२ मा सिन्धुलीका राजकुमार बराल र सुभाष भेटवाल बानेश्वरस्थित ९९ आना नामको घरजग्गा कारोबार गर्ने अफिसमा जुवा खेलेका थिए ।
आफूलाई बोलाएर रक्सीमा अखाद्य बस्तु मिसाएर खुवाएको र ७ थान चेक चोरेको भन्दै बरालले प्रहरीमा उजुर दिएका थिए ।
सिंहले चेक चोरेको आरोप लागेका सुभाष भेटवालालाई बोलाएर चेक फिर्ता लिएर आफैँ राखेका थिए । सिसिटिभी फुटेज हेर्दा बरालको चेक अर्का जुवाडेले भरेको देखिएको दाबी गरिएको छ ।
प्रहरीले सो कार्यालयमा छापा मारेर केही बुक तास, किताब र सिसिटिभी फुटेज पनि लिएको थियो ।
जुवा खेलेको र खेलाएको फुटेज प्रमाण भए पनि एसएसपी सिंहले मुद्दा अघि बढाउन अस्वीकार गरेर लामो समय चेक आफैँसँग राखेका थिए ।
पुस २ मा सरुवा भएर अर्का एसएसपी सुदीप गिरी काठमाडौंमा हाजिर हुन आएपछि एसएसपी सिंहले आरोपी भेटवाललाई बोलाएर २ करोड २९ लाखको चेक फिर्ता गरेको उजुरी परेको छ ।
एसएसपी सिंहले कीर्ते काण्डका विवादित पूर्वडीआईजी नवराज सिलवाललाई पनि सफाइ दिन प्रतिवेदन तयार पारेका थिए । सिंहकै प्रतिवेदनका आधारमा कीर्ते काण्डबाट तत्कालीन डीआईजी सिलवाललाई सफाइ दिइएको थियो ।
काठमाडौं प्रहरीको प्रमुख हुँदा एसएसपी सिंह विवादरहित हुन सकेनन् । उनी एकपछि अर्को विवादमा पर्दै गए । एसएसपी सिंह अहिले आएर जुवाको चेक काण्डमा परेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया