मलाई अविश्वास गर्ने साथीहरूको मन जितेर काम गर्नेछु, दोष कसैलाई दिन्न : डा.प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले आफूलाई प्रतिवद्ध भोट आएको भन्दै पराजयको अपजस अरु कसैलाई पनि नदिने बताएका छन् ।

काठमाडौंमा शुक्रबार कांग्रेसको समाचार लेख्ने पत्रकारहरूसँग कुरा गर्दै डा.महतले आफूलाई महाधिवेशनबाट झन् उर्जा मिलेको बताए । उनले अपेक्षा गरेअनुसार मत नआएको स्वीकार गरेका छन् ।

‘अपेक्षाअनुसार मत आएन । स्वीकार गर्नुपर्छ । जुन हैसियत छ, त्यो हैसियत अनुसारको भूमिका निर्वाह गरिरहनेछु’, डा.महतले भने, ‘देश र जनतालाई केन्द्रमा राखेर आफ्नो भूमिका निभाउनेछु ।’

पूर्वमन्त्री समेत रहेका नेता डा.महतले भने, ‘मैले जति मत पाएको छु त्यो मलाई माया गर्नेहरूले हालेको भोट हो । यश अर्थमा म उत्साहित छु ।’

‘अझ काम गर्नु आवश्यक छभन्ने सन्देश पनि हो यो मत’, उनले भने, ‘अब म थप उत्साहसहित भएर काममा लाग्नेछु ।’

विचार समूहका आधारमा चुनावमा गएको बताएका डा.महतले प्रतिबद्धता अन्तिम समयसम्म रहन नसकेको गुनासो गरेका छन् । आफ्नो पराजयका विषयमा डा.महतले कसैलाई दोषारोपण नगर्ने बताए ।

‘महामन्त्रीको तहमा मात्र त्यस्तो भएको छ । यसको समीक्षा हुनेनै छ’, डा.महतले भने, ‘मलाई मात्र होइन धेरैलाई अनपेक्षित लागेको छ । म काम गर्ने मान्छे हो, काम जारी राख्छु ।’

डा.महतले भने, ‘आज अविश्वास भएका साथीको विश्वास आर्जन हुनेगरी काम गर्नेछु ।’

उनले भनेका छन्, ‘यो पराजयले मलाई थप ऊर्जा दिनेछ । यसले मलाई समयको सुविधा दिएको छ । यसको उपयोग गर्नेछु ।’

उनले भने, ‘म साथीहरूको जितमा खुसी हुन्छु । मेरै हैसियतअनुसार पार्टी र देशका लागि काम गरिरहन्छु ।’

‘मैले स्ट्रङ मत प्राप्त गरेको छु, अनेक बाधा व्यवधानका बीच त्यो मत प्राप्त गरेको छु’, डा.महतले भनेका छन् ।

‘कसले ग¥यो भन्न चाहन्नँ । मैले सहयोग पाइनँ । मेरै कमजोरी रह्यो होला’, उनले भनेका छन्, ‘कसैलाई दोषारोपण गर्दिनँ ।’

सभापतिले केन्द्रीय सदस्यमा मनोनीत गर्ने सम्भावना छ कि छैन भन्ने प्रश्नमा डा.महतले भने, ‘मनोनयनमा पार्टी सभापतिको भूमिका हुन्छ । उहाँले आवश्यकता देखेमा ल्याउन सक्नुहुन्छ । मूल्यांकनका आधारमा उहाँले गर्ने निर्णय हामीले स्वीकार गर्नुपर्छ ।’

केन्द्रीय समितिमा जम्मा १३४ पदका लागि भएको मतदान भएको थियो ।

१०९ जना सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार विजयी भएका छन् । डा.महत र प्रदीप पौडेलले देउवा समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए । दुबै जना पराजित भएका छन् । उनीहरूलाई टिमभित्रैबाट असहयोग भएको चर्चा हुने गरेको छ ।

Published : Friday, 2021 December 24, 7:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया