भ्रष्टाचारको मुद्धा लागेका यी व्यक्ति कांग्रेसको केन्द्रीय सदस्यमा हारे
काठमाडौं । भ्रष्टाचार मुद्धा लागेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा पराजित भएका छन् ।
बिहीबार राति सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार सिंहले ४७७ मत पाएका थिए ।
सभापतिमा पराजित प्रकाशमान सिंह निकट मानिने रवि सिंहले आफ्नो पक्षमा प्रचार गर्न महाधिवेशनस्थल बाहिर स्वागत गेट बनाउनेदेखि भड्किलो चुनावी प्रचार गरेका थिए । उनले प्रचार–प्रसारमा लाखौँ रुपियाँ खर्च गरेका छन् ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङ जिल्लाको एक खण्डको ठेक्कामा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण व्यवसायी सिंहविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
ठेकेदार सिंह, मध्यपहाडी लोकमार्ग योजना धुलिखेल कार्यालयका तत्कालीन योजना प्रमुख विजय चापागाईंसहित ५ जनाविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्काबाट एउटै प्रकृतिको काम ओभरल्याप गरिएको अख्तियारले जनाएको छ ।
एउटा ठेक्काबाट डीपीआर अनुसारको इष्टिमेट तयार भई भएको कामको भुक्तानी भइसकेपछि फेरि सोही चेनेजमा सोही प्रकृतिको आइटमको अर्को ठेक्काबाट काम गराई विल तयार पारी भुक्तानी लिने÷दिने काम गरी ६८ लाख ९३ हजार ७७८ रुपियाँ ५ पैसा हिनामिना गरिएको अख्तियारको दावी छ ।
सिंह महादेव खिम्ती निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक हुन् । उनीविरुद्ध ६८ लाख ९३ हजार ७७८ रुपियाँ ५ पैसा विगो माग दावी गरिएको छ ।
यसअघि पनि लालबकैया नदी नियन्त्रण आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा सिंहसहित मैनाचुली निर्माण सेवा प्रालिका प्रवनध निर्देशक मदनकुमार अधिकारी विरुद्ध ३ करोड ६५ लाख ९ हजार ४५६ रुपियाँ बारकरको भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।
निर्धारित शर्त र सम्झौताविपरीत कमजोर गुणस्तरको ग्याविन तार प्रयोग गरेर काम गरेको आरोप उनीहरूविरुद्ध थियो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया